महरापुत्र पनि छानबिनमा ?

२०७६ कार्तिक १९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – बिवाहेत्तर सम्बन्ध नेता कृष्णबहादुर महरालाई निकै महंगो प¥यो । त्यही कारण उनले सभामुख पद मात्र गुमाएनन् एक महिना प्रहरी हिरासतमा समेत बिताउनुप¥यो ।

३० वर्षपहिलेदेखि चिनजानकी एक महिलाका कारण उनको राजनीतिक ‘करिअर’ लगभग समाप्त भयो । संसद सचिवालयमै नर्सका रुपमा कार्यरत रोशनी शाही यी सबै घटनाकी कारण थिइन् ।

यसमा महरा मात्र नभई उनको परिवारको समेत गल्ती रहेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु बताउँछन । महरा र रोशनीको सम्बन्धबारे माओवादीका धेरै नेतालाई थाहा थियो । उनको परिवारलाई थाहा नहुने कुुुरै भएन ।

पछिल्लो समय महरा र रोशनीको विवाद बढेको थियो । त्यसो त महराकी श्रीमती सीता र छोरा निर्मललाई जानकारी थियो । रोशनीले आफ्नो पदस्थापन काठमाडौंमै गरिदिन लगायत विभिन्न माग राखेकी थिइन् ।

त्यसपछि महरापत्नी र निर्मलले रोशनीलाई धम्काएको स्रोत बताउँछ । असोज १२ गते सम्झाउन समेत भनेर महरा रोशनीको डेरामा गएका थिए । त्यहाँ दुवै जनाबीच कुटाकुट भएको थियो । त्यही कारण उनी मिडियामा गएकी थिइन् ।

तेस्रो दिन नै उनले बोली फेरिकी थिइन् । तर, महरा निकट व्यक्तिहरुबाट उनलाई धम्की दिइएको थियो । त्यही कारण उनले महराविरुद्ध प्रहरीमा जाहेरी दिएको स्रोत बताउँछ ।

स्रोतका अनुसार महरा पुत्र निर्मलले रोशनीलाई पटक–पटक धम्कीपूर्ण एसएमएस र फोन गरेका थिए । त्यो खुलेपछि प्रहरीले निर्मलसँग समेत सोधपुछ गरेको थियो । उनको मोबाइलसमेत परीक्षणका लागि मागेको थियो । तर, आफ्नो कुनै कुरा नै नभएको भन्दै उनले प्रहरीलाई दिन मानेनन् । सर्वसाधरण भएको भए प्रहरीले उनलाई समेत थुनामा राख्न सक्ने अवस्था थियो । तर, प्रहरीले उनको मोबाइलसमेत झिकाउने प्रयास गरेन ।

त्यस्तै महराले रोशनीलाई पटक पटक एसएमएस पठाएका थिए । त्यो मोबाइल समेत बरामद गर्न नसक्दा प्रहरी अनुसन्धान कमजोर बनेको छ । महरा पत्नीले आफूले सो मोबाइल फुटाइदिएको भनेर प्रहरीसँग कागज गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार