काठमाडाैं – नेपाली युवा दिवेश पोखरेल अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको अमेरिकन आइडलको उप–विजेता बनेका छन् ।
उनले सोमबार बिहान भएको १८औँ संस्करणको फाइनल प्रस्तुतिपछि भएको भोटिङमा दोस्रो स्थान हासिल गरेका हुन् । उनी अमेरिकाको स्टेजमा अर्थर गनको नामले चिनिदै आएका छन् ।
अमेरिकन आइडलको १८ औं सिजनकी बिजेता भने २१ बर्षकी जस्ट साम बनेकी छिन् । पाँच जनामा भएको फाइनल प्रतिस्पर्धापछि उत्कृष्ट दुई जना छनोट गरिएको थियो । उत्कृष्ट दुईमा आर्थर गन र जस्ट साम छनोट भएका थिए ।
सुरूदेखि नै दिवेश र जस्टलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । दिवेश टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन् ।
जस्ट न्यूयोर्क निवासी लाइबेरियन मूलकी अश्वेत गायिका हुन् । उनले मिडल स्कुलदेखि नै न्यूयोर्कका सव वे र ट्रेनहरुमा गाउने गर्थिन् ।
नेपाली युवा दिवेश पोखरेल सन् २०१४ मा अमेरिका पुगेका थिए । कन्सासको विचिटामा बस्दै आएका दिवेश विगत दुईबर्षदेखि संगीतको क्षेत्रमा छन् । उनी प्लस टु उत्तिर्ण गरेपछि अमेरिका पुगेका थिए ।
दिवेशले सन् २०१९ को जनवरीमा नेपालमै आफ्नो ग्रहण एल्बमको लोकार्पण गरेका थिए । अर्थर गनका नाममा युट्युब च्यानलसमेत बनाएका उनका एक दर्जनजति गीत छन् ।
अमेरिकामा रहेका नेपालीहरुले उनलाई उत्साहका साथ भोटिङ गरेका थिए भने विश्वभरका नेपालीहरुले अमेरिकन आइडलको यो शोलाई विशेष चासोका साथ हेरेका थिए ।
गत फागुनको पहिलो हप्ता भएको अमेरिकन आइडलमा अडिसनबाट छनोटसँगै दिवेशको चर्चा एकाएक चुलिएको थियो।