मोरङको पथरीमा दीपावली मनाउदा भीषण आगलागी ,चार वर्षीय बालकको मृत्यु

२०७६ कार्तिक ११, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

उर्लाबारी – मोरङको पथरी शनिश्चरे नगरपालिका- ५ कोठेबारीमा दीपावली गर्न बालेको दियोबाट घर जल्दा चार वर्षीय बालकको मृत्यु भएको छ ।

आइतबार राति करिब साढे १० बजे कोठेबारीका युवराज गिरीको घरमा आगलागी हुँदा उनका चार वर्षीय छोरा युसनको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

घरमा सुतिरहेका युसनको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको हो ।

आगोमा जलेर टिनको छानो भएको एक तले घर पनि पूर्णरुपमा नष्ट भएको छ । घरभित्र रहेको नगद ९५ हजार, तीन तोला सुनका गहना, तीनतोला चाँदीका गहना, लत्ता कपडा पनि नष्ट भएको पीडित परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
स्थानीयवासी र प्रहरी चौकी कुशेचौरीबाट खटिएको टोलीले करिब एघार बजेतिर आगो नियन्त्रणमा लिएका थिए ।

दीपावली मनाउने क्रममा भएको आगलागीको घटनामा परी ज्यान गुमाएका बालक युसनप्रति जिल्ला प्रहरी कार्यालय मोरङले श्रद्धाञ्जली व्यक्त गरेको छ । प्रहरीले तिहारको बेला घर झिलिमिली पार्दा हुन सक्ने आगलागीका घटनाप्रति सुरक्षा सजगता अपनाउन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार