तिहारमा क्षमताअनुसार निर्धक्क भएर बत्ती बाल्नुहोस् – प्राधिकरण

२०७६ कार्तिक ९, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

काठमाडौं- तीन वर्ष अघिसम्म बत्तीको पर्व तिहारमा लोडसेडिङ्ग व्यवस्थापन गर्न धौधौ परेको नेपाल विद्युत प्राधिकरणले यस पटक भने आन्तरिक उत्पादन नै प्रयोग गरेर देशभर उज्यालो बनाउने भएको छ ।

विगतमा भारतको भर परेर मात्रै उज्यालो बनाएको प्राधिकरणमाथि लागेको आरोप यस पटकदेखि भने हट्ने भएको छ ।

यस पटकको लक्ष्मीपूजाको दिन आन्तरिक उत्पादनबाटै देशभर उज्यालो बनाउने प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने, “प्राधिकरण र निजी क्षेत्रका सबै आयोजना पूर्ण क्षमतामा चल्ने भएकाले भारतबाट विद्युत् नगन्य मात्रामा मात्रै विद्युत् आयात हुन्छ ।”

तीन वर्ष पहिले तिहारमा सहजरूपमा विद्युत् उपलब्ध गराउने कुरा कल्पना बाहिरको विषय थियो । समय बदलियो, नेतृत्व बदलियो, नीति र कार्यक्रमसमेत बदलियो । विसं २०७३ को लक्ष्मीपूजाको दिनदेखि नै विद्युतभार कटौतीको अन्त्य भएको घोषणा गरिएको थियो ।

तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफैँ कार्यस्थलमा खटेर लक्ष्मीपूजालाई वास्तवमै उज्यालो बताएका थिए ।

अघिल्ला दुई वर्षमा प्राधिकरणले अनेकन उपाय लगाएर भए पनि उपभोक्तालाई विद्युत् उपलब्ध गराएको थियो ।

प्राधिकरणले अहिले आफ्ना आयोजनाबाट कूल नौ हजार १३५ मेगावाट घण्टा विद्युत् उपलब्ध गराइरहेको छ । निजी क्षेत्रका आयोजनाबाट कूल १० हजार २१६ मेगावाट विद्युत् उपलब्ध भइरहेको छ । भारतबाट एक हजार ८२९ मेगावाट घण्टा विद्युत् आयात भइरहेको छ ।

यतिबेला मौसममा कुनै बदली नभएका कारण देशव्यापीरूपमा नै कहीँकतै पनि ‘ट्रिपिङ’को समस्या छैन । प्राधिकरणका अनुसार हाल प्रणालीमा कूल २१ हजार २७० मेगावाट घण्टा विद्युत् माग रहेको छ । त्यस्तै प्राधिकरणले हाल दैनिकजसो नै ५३३ मेगावाट विद्युत् भारत निर्यात गरिरहेको छ ।

प्राधिकरणले जगेडाका रुपमा कुलेखानीको तीनवटै आयोजना पनि राखेको छ । ती आयोजनाबाट कूल १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ । कुलेखानी पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र हालै सञ्चालनमा आएको कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । ती आयोजना जलाशय प्रकृतिका भएका कारण पनि आवश्यक परेको समयमा मात्रै चलाउने गरी व्यवस्थापन गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

हाल प्राधिकरणको प्रणालीमा एक हजार २५० मेगावाट विद्युत् उपलब्ध छ । यस वर्षको छ महिनामा मात्रै १५० मेगावाट विद्युत् थप भइसकेको छ । आन्तरिकरूपमा नै विद्युत् पर्याप्त भएकाले कुनै भवितव्य नहोस् भनेर मात्रै भारतबाट आयात हुने विद्युत् जोडिराखिएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हाल ५० मेगावाटको हाराहारीमा मात्रै विद्युत् आयात गरिरहेको छ । आयात भएका मध्ये ३० मेगावाट विद्युत् रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत बिहारतर्फ निर्यात गरिएको छ । बाँकी रहने २० मेगावाट विद्युत् मात्रै प्रणाली सुरक्षाका लागि उपलब्ध भइरहेको छ ।

कुलेखानी चलाउँदा उत्पादन हुने विद्युत् भारत नै निर्यात हुने गरेको छ । जलाशयको सतहलाई सन्तुलित बनाइराख्न पछिल्ला दिनमा कहिलेकाहीँ एकाध घण्टा कुलेखानी चलाउने गरिएको प्रवक्ता अधिकारीको भनाइ छ । कुलेखानीको जलाधार क्षेत्रबाट जम्मा हुने पानीको मात्रा उस्तै रहेका कारण पनि जलाशयलाई सन्तुलित बनाइराखिएको प्राधिकरणको भनाइ छ ।

आन्तरिक विद्युतबाट नै दीपावलीलाई झकीझकाउ बनाउने गरी योजना तयार भएको र प्राधिकरणका सबै वितरण केन्द्र, आयोजना तथा ग्रिडका कर्मचारीलाई समेत तम्तयारी अवस्थामा राखिएको छ ।

काठमाडौँ उपत्यकाको विद्युत् प्रणालीको अवस्था पहिचानका लागि कार्यकारी निर्देशक कुलमान घिसिङसहित प्रवक्ता अधिकारीको टोली परिचालित भएको छ । शनिबार पनि उपत्यकाका सबै क्षेत्रको अवस्थाको बारेमा कार्यकारी निर्देशक घिसिङले जानकारी लिएको प्रवक्ता अधिकारीको भनाइ थियो । प्राधिकरणका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीको नेतृत्वमा अर्को टोली स्थलगत निरीक्षण तथा आवश्यक तयारीका लागि परिचालित छ ।

कुनै पनि घर अँध्यारोमा बस्नु नपरोस्, सबै घरमा बत्ती बलोस् भन्ने लक्ष्यका साथ सबै तयारी गरिएको प्राधिकरणको भनाइ छ ।

क्षमताअनुसार बत्ती बाल्नुस्

अघिल्ला वर्षहरुमा बढी विद्युत् माग हुने समयमा धेरै विद्युत् खपत गर्ने उपकरण नचलाउन आग्रह गर्ने प्राधिकरणले यस पटक निर्धक्क भएर बत्ती बाल्न उपभोक्तालाई आग्रह गरेको छ ।

बत्तीको उपलब्धता बढी भएकाले उपभोक्ताले बत्तीको पर्वमा आफ्नो क्षमताअनुसार नै बत्ती बाल्न आग्रह गरिएको प्रवक्ता अधिकारीको भनाइ छ । प्राधिकरणले विद्युत् पुगेका स्थानका कुनै पनि घर अँध्यारोमा बस्न नपरोस् भनेर सबै व्यवस्था मिलाएको जनाएको छ ।

लक्ष्मीपूजाको दिन १२०० मेगावाट माग

प्राधिकरणले लक्ष्मीपूजाको दिन देशभरको विद्युत् माग बढीमा एक हजार २०० मेगावाट पुग्ने प्रक्षेपण गरेको छ । भारप्रेषण केन्द्रले तय गरेको आँकडाअनुसार कूल एक हजार १९० मेगावाटदेखि एक हजार २०० मेगावाटको हाराहारीमा विद्युत् माग पुग्ने छ ।

तिहारको समयमा उद्योगधन्दा पनि बन्द हुने भएकाले घरायसी उपयोगका लागि मात्रै विद्युत् माग बढ्दा त्यसले खासै समस्या नपर्ने प्राधिकरणको बुझाइ छ ।

आन्तरिक रुपमा बढी भएको खण्डमा निर्यात गरिरहेको भन्दा बढी विद्युत् भारत निर्यात गर्न सक्ने अवस्थामा प्राधिकरण पुगेको छ । बर्दघाट सवस्टेशनमा बिहीबार राति आगलागी भएपनि सो क्षेत्रका २९ हजार उपभोक्तालाई वैकिल्पक उपायबाट विद्युत् उपलब्ध गराइएका कारण कुनै पनि घरमा अँध्यारो नहुने प्राधिकरणको भनाइ छ । खबर हब

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार