पूर्व माओवादीमा द्वन्दकालिन मुद्दाको भय, प्रचण्ड तानिन सक्ने

२०७६ कार्तिक ७, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एक घटक पूर्व माओवादी समूह द्वन्दकालिन मुद्दा उठाएर आफ्ना शीर्ष नेता र कार्यकर्ता कार्बाहीको शिकार हुने हो कि भनी सशंकित र चिन्तित रहेको बुझिएको छ । निवर्तमान सभामुख कृष्णबहादुर महरा पनि षड्यन्त्रकै शिकार बनाईएको विश्वास गर्ने एक पूर्व माओवादी नेताका अनुसार, अध्यक्ष पुष्पकमल दाहालमाथि पनि कुनै पनि समय कुनै बिषय जोडेर विवाद र कानुनी झमेला खडा हुनसक्ने बताए । पछिल्ला दिनहरुमा आएर दाहाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले कर्नर गर्न खोजेको जस्तो महसुस गरिरहेको पूर्व माओवादी समूह सरकारसँग निकै सशंकित बनिरहेको समाचार सूत्रले बताएको छ ।

यसैपनि नेकपा घर झगडाले आफैंमा ग्रसित छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासशिला पात्र तत्कालिन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको झमेलामा पक्राउ परेपछि झन् नेकपाभित्र उग्र रुप लिएको छ ।

पछिल्लो समय नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डको सम्बन्धमा तुसारो परेको छ । ओली र प्रचण्डको सम्बन्धमा चिसोपन आएसँगै सार्वजनिक कार्यक्रममा समेत एकअर्का विरुद्ध खनिन थालेका छन् ।

केहि समयअघि महरा बलात्कार प्रयासमा मुछिनुभन्दा पछि प्रधानमन्त्रीले एक राष्ट्रिय दैनिकमा अन्तरवार्ता दिएका थिए । उक्त अन्तरवार्तामा अमेरिकाले दिने भनेको एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) प्रोजेक्टको ५३ अर्ब रुपैयाँबारे पनि प्रश्न गरिएको थियो । एमसीसी संसदबाट किन पास हुन नसकेको भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भनेका थिए– ‘त्यसमा तत्कालिन सभामुख कृष्णबहादुर महराजीले अलि बेठिक गर्नुभयो । सरकारले टेबुल गरिसकेपछि अन्यत्रका दृष्टिकोणहरूका आधारमा, छलफलका आधारमा त्यसलाई अनुमोदनका लागि प्रस्तुत नगर्नु कर्तव्यभन्दा परको, सभामुखको पदको हैसियतको अनुशासन पालना नगरेको हो । कसैले उहाँलाई भनिदियो, अलिकति विलम्ब गर्नुपर्छ । त्यसपछि विभिन्न नेताहरूका अभिव्यक्तिलाई लिएर पनि विचार गरौं भन्नेतर्फ उहाँ (महरा) लाग्नुभयो ।’ प्रधानमन्त्रीले भने, ‘आउँदो अधिवेशनमा पारित हुन्छ ।’

प्रधानमन्त्रीले अन्तरवार्तामै यस्तो बताएपछि नेकपामा खासगरी पूर्व माओवादीभित्र महराप्रति ओली पनि सकरात्मक नरहेको भन्दै बहस सुरु हुन थाल्यो । प्रचण्ड पक्षधरले भित्र जे जस्तो भए पनि ओलीले मिडिया सामु यस्तो अन्तरवार्ता दिनुले पूर्व माओवादीलाई सिध्याउन ओली लागेको निष्कर्ष निकालेको बुझिन्छ ।

पूर्व माओवादी र महराप्रति ओलीले बारम्बार सार्वजनिक कार्यक्रममा कटाक्ष गर्न थालेपछि प्रचण्डसमेत असन्तुष्ट बनेको देखिन्छ । ओलीले महराविरुद्ध त्यस्तो अन्तरवार्ता दिएको केहि दिनपछि एक सार्वजनिक कार्यक्रममा प्रचण्डले ओलीको भनाईको खण्डन नै गरेका थिए । तर प्रचण्ड सार्वजनिक कार्यक्रममा ओली र आफूबीच केहि नराम्रो नरहेको पनि स्पष्ट पार्दै आएका छन् । सम्बन्धमा चिसो पसे पनि पछिल्लो समय ओली र प्रचण्ड भने दैनिक जसो छलफलमै रहेका छन् ।

अहिले ओली प्रचण्डबीच राम्रो सम्बन्ध नभएको छर्लङग छ । आफू निकटका नेताहरुसँग ओलीले आफूलाई भूमिका विहिन बनाउन खोजेको प्रचण्डले गुनासोे गर्ने गरेका छन् । पार्टी एकताअघि र एकतापछि गरिएका कतिपय सहमति अहिले ओलीले अस्वीकार गर्दै आएको आफू निकट नेताहरुलाई प्रचण्डले सुनाउने गरेका छन् ।

त्यसो त दशैं सकिएलगत्तै ओलीको विश्वास पात्र तथा नेकपाका सचिवालय सदस्य इश्वर पोखरेलको निवास धापासीमै गएर पनि ओलीले सहमति कार्यन्वयन नगरेको भन्दै प्रचण्डले छलफल गरेका थिए ।

केहि समयअघि नेकपाका अर्का नेता माधव नेपाललाई पन्छाएर प्रचण्ड ओलीसँग नजिक भएका थिए । अहिले ओलीले पुराना सहमति कार्यन्वयन नगरेको भन्दै तिनै माधव नेपालसँग पनि निकै छलफल गरेका छन् । प्रचण्डले पार्टी प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई सँगै लिएर माधव नेपालसँग केहि दिनअघि मात्रै छलफल गरेका थिए ।

पूर्व माओवादीहरुलाई अहिले एकपछि अर्को गर्दै पुराना मुद्धा व्यूँताएर आफूहरुलाई किनारा लाउन प्रधानमन्त्री ओलीले सक्रियता बढाएको आशंका र भय रहेको बुझिन्छ ।
द्धन्द्धकालिन मुद्धालाई किनारा लगाउन बनेको सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा प्रचण्डले आफूले भनेको मान्छेलाई नियुक्ति गर्न खोजेका थिए । तर ओलीकै असहमतिका कारण अहिलेसम्म अध्यक्ष नियुक्ति गर्न सकेको छैन् ।

त्यसोत प्रचण्डको अर्का विश्वास पात्र हुन् नेकपाका नेता अग्निप्रसाद सापकोटा । सर्वोच्च अदालतमा विचाराधीन काभ्रे छत्रबासका अर्जन लामा हत्याकाण्डमा सापकोटालाई पनि फन्दा पार्ने हो कि भन्ने पूर्व माओवादी समूहमा गन्थन हुन थालेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले बेपत्ता छानबीन आयोगमा उजुरी परेको वा नपरेको, यदि परेको भए सोको प्रतिलिपि उपलब्ध गराउन आदेश दिइसकेको छ । यो लगायत अन्य मुद्धा कुनै न कुनै बेला उठाउन सक्ने भन्दै पूर्व माओवादीहरु सशंकित छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार