कविता : नयाँवर्ष तिमी आऊ

२०७६ चैत्र ३०, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नयाँवर्ष तिमी आऊ
कोरोनाको कहरले
चहर्‍याएकाे घाउमा लगाउने
मलमपट्टी बनेर आऊ ।
एकान्तवास र सामाजिक दूरीले
आक्रान्त पारेका मनहरू जाेड्न
कोभिड १९ त्यागेर आऊ ।

भ्रष्टाचारको जालो काट्ने
धारिलो कैँची र
इच्छाशक्ति लिएर आऊ
कोरोनासँग बच्नु नै छ अहिले
ज्यान रहे लाख उपाय
मानवता जोगाउन
सहकार्य र
हातेमालो लिएर आऊ ।

हराउँदै गएको
नेपाली संस्कार र संस्कृति
लिएर आऊ
आचरण व्यवहार र कार्यशैली
परिवर्तन गर्ने
हिम्मत लिएर आऊ ।

परनिर्भरतालाई त्यागेर
आत्मनिर्भर बन्न सक्ने
आँट लिएर आऊ
देश निर्माणका लागि
नयाँ नयाँ प्रविधि र
सीप लिएर आऊ ।

झुपडीहरूमा आँटा, पिठो र
भोक समन गर्ने
साधन बोकेर आऊ
गोबरले लिपेका भित्ताहरूमा
अब प्रवासीका रेखाहरू
कहिल्यै नकोर्ने गरी
सुदुर उज्यालो भविष्य
लिएर आऊ ।
नयाँ वर्ष तिमी आऊ ।।

guragainjanuka@gmail.com
जानुका गुरागाई
शाखा अधिकृत चिकित्सा शिक्षा आयोग, सानोठिमी, भक्तपुर
स्थायी ठेगाना बिर्तामोड नगरपालिका- ५
विर्तामाेड, झापा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार