sajalsandesh

केपी ओली नै पाँच वर्ष प्रधानमन्त्री

काठमान्डौ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा का प्रभावशाली नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व गर्ने स्पष्ट पारेका छन् ।
पार्टीभित्रैबाट आलोपालो सरकार नेतृत्वबारे बहस भइरहेको बेला नेता शर्माले पाँच वर्ष नै ओलीले सरकारको नेतृत्व गर्ने दाबी गरेका हुन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले आलोपालोको कुरा उठे पनि अहिले त्यो सम्भावना नरहेको जिकिर गरे ।
उनले भने, ‘अहिले सरकारले धमाधम परीणाम दिन थालेको छ । सरकारलाई अस्थिर बनाउने काम कोही कतैबाट हुनुहुँदैन, वर्तमान प्रधानमन्त्री ओलीजी नै पाँच वर्षको प्रधानमन्त्री हो, यसमा कुनै द्विविधा छैन ।’
नेता शर्माले मन्त्रिमण्डल पुनर्गठनबारे पार्टीभित्र शीर्ष तहमा छलफल भएको जनाए ।

तर, कहिले पूनर्गठन गर्ने वा नगर्ने भन्ने सम्पूर्ण निष्कर्ष र निर्णय प्रधानमन्त्रीले गर्ने भएकाले अहिले नै केही भन्न नसकिने पनि शर्माको स्पष्टोक्ति छ । उनले भने, ‘मन्त्रिमण्डल विस्तार गर्नुपर्छ भन्ने सोचाइ हाम्रा शीर्ष नेतामा आएको छ तर यसको निर्णय त प्रधानमन्त्रीले गर्ने हो, कहिले हुन्छ मलाई थाहा छैन ।’

नेता शर्माले संघीय संसदको सभामुख पद रिक्त रहेकोले छिटोभन्दा छिटो सभामुख निर्वाचित गर्ने पनि जनाए । नेकपाले सभामुखमा दाबी गर्ने पनि उनले जनाए । पूर्वमन्त्रीसमेत रहेका नेता शर्माले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण शानदार रूपमा सफल भएको प्रतिक्रिया दिँदै चीनले पनि नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उठाएझैं भारत, नेपाल र चीनबीचको त्रिपक्षीय साझेदारीमा जोड दिएको बताए ।

वर्तमान सरकारले धेरै राम्रो र सन्तोषजनक काम गरिरहेको शर्माको दाबी छ । सरकारले अघिल्लो सरकारले अघि बढाएका राष्ट्रिय गौरवका आयोजनालाई पनि प्राथमिकताका साथ अघि बढाएको र समयमै काम सम्पन्न गर्नतर्फ सरकार बढी केन्द्रित रहेको उनले स्पष्ट पारे । उनले नेपालमा रेलमार्गको कुरा गर्दा हाँसोको विषय बनाइए पनि पनि यो आवश्यकता भएको बताए ।

सत्ताको आडमा अपराध कर्म र भ्रष्टाचार गरेपनि ५० वर्षपछि पनि दोषी कारबाहीको दायरामा आउने उनको विश्वास छ ।

ismt college
dish home