भुजेल भाषाको पहिलो चलचित्र ‘नि–प्हुगाल’ प्रदर्शनमा

२०७६ फाल्गुन २४, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

उर्लाबारी – मोरङको उर्लाबारीमा भुजेल भाषाको पहिलो चलचित्र नि–प्हुगाल अर्थात हामी भुजेल प्रदर्शन भएको छ । यहाँस्थित सगरमाथा साकोसको हलमा भुजेल समुदायको हराउँदै गएको भेषभुषा, भाषा संस्कृति तथा रितिरिवाजको जर्गेना गर्नका लागि भुजेल भाषामा आधारित हामी भुजेल शनिबार प्रदर्शन गरिएको भुजेल सेवा समाज उर्लाबारीका सचिव दानबहादुर भुजेलले बताए ।

उक्त चलचित्र प्रर्दशनको उद्घाटन उर्लाबारी नगर प्रमुख खड्ग फागोले गरे । उनले भुजेल भाषाको चलचित्रले भुजेल समुदायको संस्कार संस्कृतिको जर्गेना गर्नका लागि मदत पुग्ने बताए । चलचित्रले भावी पुस्तामा आफ्ना जातजातिको परम्परागत रितिरिवाज थाहा पाउने र उनीहरुलाई समेत आफ्नो परम्परा धान्न उत्पेरित गराउँने भएकाले यस चलचित्र निकै महत्वपुर्ण रहेको मेयर फागोको भनाई थियो ।
भुजेल समुदायको भाषा संस्कार संस्कृति जोगाउनलाई भुजेल भाषामा चलचित्र निर्माण गरी प्रदर्शन गरिएको भुजेल समाजका केन्द्रीय अध्यक्ष लोकबहादुर भुजेलले बताए । भुजेल समुदायको लोपहुँदै गएको सस्कृति ,बासको चोयाबाट डोको नाङ्लो बुन्ने चलन हराउँदै जानु, गरिब, युवापुस्ताले ख्याल नगर्दा भाषाको संरक्षण गर्न चुनौती लगायतका बिषयबस्तुलाई चलचित्रमा उतारिएको थियो ।

भुजेल समुदायको पेसा बासको चोयाबाट डोको नाङ्लो बुनेर जिविका चलाउँने पुख्यौली पेसाबाट अहिले पनि जिविका चलाउन सक्ने सन्देश दिएको सुरेन्द्र भुजेलले जानकारी दिए । आदीमुल तनहुँ, कास्कीकोट पोखरा लगायतका ठाउँमा चलचित्रको छायाँकन गरिएको उक्त चलचित्र प्रर्दशन यतिवेला प्रदेश नम्बर १ मा केन्द्रित छ ।

भुजेल समाज सेवा समिति केन्द्रिय र भुजेल चलचित्र संघ केन्द्रिय समितिको सक्रृयतामा भकारी इभेन्टस् प्रा.लीको ब्यानरमा हामी भुजेल चलचित्र बनेको हो । सेवानुङ फिल्मस् प्रालिको प्रस्तुती भुजेल भाषा र संस्कृतिमा आधारित पहिलो भुजेल कथानक चलचित्र रहेको छ ।

चलचित्र ३५ लाखमा निर्माण भएको हामी भुजेल चलचित्र युनिटले दाबी गरे । २ घण्टा ३५ मिनेट लामो भुजेल भाषाको चलचित्र नि–प्हुगाल अर्थात हामी भुजेललाई उर्लाबारीका भुजेल समुदायले निकै रुचाए । चलचित्रमा पुजा भुजेल र भिम भुजेलको मुख्या अभिनय रहेको छ ।

त्यस्तै अन्य कलाकारहरु पार्वती भुजेल (मिनु) सचिन, पृथ्वी, लोकबहादुर, जुनु, अन्जली, कमल, कला, कविता, प्रतिक्षा, विज्ञान, जिबन, आषिक, बसुन्धरा, लाल बहादुर, रन्जु, बिष्णु, शोभा, सुरेन्द्र राज, भेष राज, कृष्ण, सागर, मनु र ज्ञानु भुजेल रहेका छन् । भुजेल समाज सेवा समिति केन्द्रिय र भुजेल चलचित्र संघ केन्द्रिय समितिले चलचित्र निर्माण गरेको हो । कार्यकारी निर्मातामा पोखराका कमल बहादुर भुजेल रहेका छन् ।

कथाकार लमजुङका कमल भुजेल हुन् भने, परिकल्पना रेशम भुजेल हुन् । पटकथा र संम्वाद कृष्ण कुमार गुरुङले गरेका छन् । त्यस्तै सह निर्माता पोखराकी कोपिला भुजेल हुन् । छायाँकन प्रकाश गुरुङ रहेको छ भने, मुख्य सह निर्देशक सोम गुरुङ तथा सह निर्देशक ज्ञानु भुजेल हुन् । संगीत, लेखक तथा निर्देशन कृष्ण कुमार गुरुङ हो । नृत्य निर्देशक पवित्रा भुजेलको रहेको छ । सर्वज्ञमान शाक्य, स्मृति शाही, पृथ्वी भुजेल रुची गौलीले चलचित्रमा रहेको गीतमा स्वर दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार