सीको नेपाल भ्रमणलाई विदेशी मिडियाले दिए प्राथमिकता

२०७६ आश्विन २७, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने नेपालको औपचारिक भ्रमणबारे विदेशी मिडियाले अभिरुचिपूर्वक नेपाल र चीनको सम्बन्धलाई नयाँ उचाईमा पुगेको विश्लेषणसहित प्रकाशित गरेको छ ।

चीनबाट प्रकाशित हुने ‘पिपुल्स डेली’का अनुसार नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले चिनियाँ विकासको सफलताको अनुभवको पाठ लिएको शीर्षकका साथ समाचार छापेको छ ।नेकपाका अध्यक्ष प्रचण्डले पिपुल्स डेलीलाई दिनुभएको अन्तर्वार्तामा राष्ट्रपति सीको राजकीय भ्रमणले दुई देश र दुई पार्टीबीचको सम्बन्धलाई थप उचाइमा पु¥याएको उल्लेख गरिएको छ ।

सिन्ह्वा न्यूज एजेन्सीले राष्ट्रपति सीको दक्षिण एसियाको भ्रमणले नेपाल र भारतसँगको सम्बन्धलाई सुदृढ गर्दै क्षेत्रीय समन्वयमा बढावा दिएको समाचार प्रकाशित गरेको छ । दुई देशका नेताहरुबीचमा बेल्ट एण्ड रोड इनिसिएटिभ कार्यक्रममार्फत् नेपाललाई भूजडित मुलुकमा पु¥याउँदै बहुआयामिक हिमालय कनेक्टिभिटी सञ्जाल जोड्ने विषयमा सहमति भएको उल्लेख गरिएको छ ।

भारतबाट प्रकाशित हुने ‘टाइम्स अफ इन्डिया’ले दुई देशका कम्युनिष्ट नेताहरुबीच दुई कम्युनिष्ट पार्टीहरुको सम्बन्ध सुदृढ गर्ने कार्यक्रम आदानप्रदान गर्ने विषयमा सहमति भएकोबारे प्राथमिकता दिएर समाचार प्रकाशित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता गरेर नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासको नयाँ युगमा प्रवेश गराएको भन्दै राष्ट्रपति सीले प्रशंसा गर्नुभएको उल्लेख छ ।

दुई पार्टीका मार्गनिर्देशक सिद्धान्त माओवादी दर्शन भएको बताउँदै राष्ट्रपति सीद्वारा पार्टी निर्माण र सरकार सञ्चालनका अनुभव आदानप्रदान गर्न चाहेको अभिब्यक्तिसहितकाे समाचारलाई प्राथमिकता दिइएको छ । नेकपाका अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपति सीकाे भ्रमणले नेपाल चीनको सम्बन्ध नयाँ उचाइमा पुगेकाले नेपालको विकास र समृद्धिमा सहयोग पुग्ने विवरण उल्लेख छ ।

त्यसैगरी, भारतीय ‘डी हिन्दु डटकम’ले चिनियाँ राष्ट्रपतिले चीनलाई विभाजन गर्ने प्रयासलाई निष्फल पार्ने चेतावनी शीर्षकमा समाचार प्रकाशित गरेको छ । नेपाली वरिष्ठ नेताहरुलाई भ्रमणको दौरानमा भेटेपछि यस्तो धारणा सार्वजनिक भएको उल्लेख गरिएको छ ।

यही शीर्षकमा बेलायतबाट प्रकाशित हुने ‘डी गार्डियन डटकम’ले पनि प्राथमिकता दिएर समाचार छापेको छ । चिनियाँ सरकारी टेलिभिजन सीसीटिभीका अनुसार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले एक चीन नीतिलाई समर्थन गर्दै नेपालमा कुनै पनि चीनविरोधी गतिविधि गर्न नदिने भन्नुभएको समाचारलाई गार्डियनले महत्व दिएको छ । गोरखापत्र अनलाईन

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार