`चतुरबहादुर र पारस मिलेर अहिले नेपाली क्रिकेट प्रेमीलाई ‘वेवकुफ’ बनाइरहेका छन्´

२०८१ जेष्ठ १६, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नवीन अर्याल 

आज माननीय ज्ञानेन्द्रबहादुर शाहीसहित नेपाली क्रिकेट प्रेमीहरू सन्दीप लामिछानेको न्यायका लागि सडकमा उर्तिनु भएछ । उहाँहरूले सन्दीपलाई भिषा उपलब्ध नगराएकोमा अमेरिकी दूतावासको आलोचना गर्नु भएछ ।

सन्दीपको भिषाको सन्दर्भमा अहिले अमेरिकी दूतावासलाई दोषी ठहर गर्नु उचित हुँदैन । मेरो विचारमा यसको सवैभन्दा ठूलो दोषी क्यानका पदाधिकारी (विशेषत् अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का) हुन् ।

आजको मितिसम्म क्यानले विश्वकप खेल्ने नेपाली राष्ट्रिय टोलीको नाम संसोधन गरेको छैन । यसको अर्थ हो, सन्दीपलाई अहिलेसम्म १५ सदस्यीय टोलीमा समावेश गरिएको छैन । विश्वकप खेल्ने राष्ट्रिय टोलीमा समावेश नभएको खेलाडीलाई भिषा उपलब्ध गराउन अमेरिका बाध्य छैन । उसले एक महिनाअगाडि उडेको १५ सदस्यीय राष्ट्रिय टोलीलाई भिषा उपलब्ध गराइसकेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसीसी) ले खेलाडीको नाम सच्चाउन दिएको अन्तिम मितिसम्म क्यानले सन्दीपको नाम समावेश गरेर, एउटा खेलाडीलाई ‘ड्रप’ नगर्दासम्म भिषा पाउने सम्भावना छैन । चतुरबहादुर र पारस मिलेर अहिले नेपाली क्रिकेट प्रेमीलाई ‘वेवकुफ’ बनाइरहेका छन् ।

मन्त्री, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको क्वाटर धाएको देखाएर पारसले जति नै आफू सन्दीपका लागि ‘मरिमेटेको’ देखाउन खोजे पनि, त्यो नेपाली खेलकुद प्रेमीलाई ‘मुर्ख’ बनाइरहेको हो । उनी सन्दीपले यो विश्वकप खेलोस् भन्ने चाहन्छन् भने मन्त्रीहरू कहाँ धाउनै पर्दैन ।

क्यानको १५ सदस्यीय टोलीमा एक जना खेलाडीलाई ‘ड्रप’ गरेर सन्दीपलाई समावेश गर्ने वित्तिकै अमेरिकी दूतावासले ‘खेलाडीको स्टाट्स’ मा सन्दीपको भिषा स्विकार गर्छ । तर, किन हो, उनी १५ सदस्यीय टिममा सन्दीपलाई समावेश गरेर राष्ट्रिय टोलीको नाम सार्वजनिक गर्न चाहिरहेका छैनन् ।

यो उनको निजी कुरा हुनसक्छ । तर, नेपाली क्रिकेट प्रेमीलाई त्यो स्विकार्य छैन ।

क्यान अध्यक्ष सन्दीपलाई अन्योलमा छोडेर श्रीमतीसहित अमेरिका उडिसकेका छन् । उनी क्यान अध्यक्षको नाताले होइन । राष्ट्रिय टोलीको १० सदस्यीय स्टाफको रूपमा अमेरिका उडेका हुन् । यो निकै लज्जाको विषय हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार