
काठमाडौं – २०२० को कतार विश्वकप छनोटको दोस्रो चरणमा प्रतिष्पर्धा गरिरहेको नेपाली राष्ट्रिय टिमले दोस्रो खेलका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ। घरेलु खेलअन्तर्गत नेपालले दशरथ रंगशालामा हुने खेल रंगशाला निर्माण नहुँदा भुटानमा खेल्ने तय भएको छ।
राष्ट्रिय टिमका प्रशिक्षक योहान कालिनले कुवेतसँग खेल्ने २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका हुन्। नेपालले ३ मंसिरमा भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ मैदानमा कुवेतविरुद्ध प्रतिष्पर्धा गर्ने छ। नेपालले कुवेतसँगको खेलअघि गत साता म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको थियो। नेपालको पहिलो घरेलु खेलका रुपमा कुवेत विरुद्धको खेल रहने छ। यद्यपि घरेलु दर्शकले भने नेपालको खेल हेर्न नपाउने भएका छन्।

पुनर्निर्माण भइरहेको नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार नभएपछि फिफा र एसियन फुटबल फेडेरेसन (एएफसी) ले खेल न्युट्रल भेन्युमा गर्न एन्फालाई निर्देशन दिएको थियो। त्यहीअनुसार एन्फाले भुटान रोजेको हो। छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ। समूह ‘बी’ मा नेपाल समूहको चौंथो स्थानमा छ। यसअघि कुवेतसँग अवे खेलमा नेपाल ७-० को फराकिलो हार ब्योहोरेको थियो। दोस्रो खेलमा अन्जन विष्टको दुई गोलको मद्दतमा नेपालले चाइनिज ताइपेलाई २-० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको थियो।
यस्तै, तेस्रो खेलमा एसियाली पावर हाउस अष्ट्रेलियासँग ५-० ले पराजित हुँदा अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको थियो।
नेपाली टोली गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर : रोहित चन्द, सुनिल बल, रवी पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, मिक्छेन तामाङ
फरवार्ड : भरत खवास, विमल घर्तीमगर, अविशेक रिजाल, नवयुग श्रेष्ठ