झापा – वि. सं २०५५ साल वैशाख १ गतेदेखि सञ्चालनमा रहेको गौरादह सामुदायिक पुस्तकालयको अवस्था दयनीय छ, पुस्तकालयमा न पुस्तक छन, न पाठक नै ! पुस्तकालयमा करिब आठ हजार पुस्तक मौज्दात छन् , तर जति छन् सबै पुराना मात्र छन् । पुराना पुस्तक पढ्न को आउने ?
पाठकको रुचि अनुसारका पुस्तक थप्न नसक्नु , इन्टरनेटकाे पहुँच र सञ्चारमाध्यमको विकासले गर्दा नयाँ पुस्ता पुस्तक पढ्नकै लागि भनेर पुस्तकालयसम्म जाँदैनन् । विगतमा दैनिक ४०-४५ वटा किताब आदानप्रदान हुने गरेको सम्झिँदै पुस्तकालय प्रमुख अम्बिका पौडेल भन्नुहुन्छ, ‘अहिले मुस्किलले ३-४ जना पाठक आउने गरेका छन् ।’
खोजेको पुस्तक भेटे मात्र पाठक पुस्तकालय पुग्ने पुस्तक प्रेमी सुजन विष्ट बताउनुहुन्छ । समयअनुसार व्यवस्थापन र पुस्तक व्यवस्था गर्न नसक्दा पाठकको आकर्षण घटेको बताउँदै विष्ट भन्नुभयाे, ‘विगतमा उपयोगी पुस्तक राखिन्थे, तर केही वर्षयता नयाँ पुस्तक छैनन्, पुराना पुस्तकले हामीलाई केही फाइदा हुँदैन ।’
स्थानीय सरकारको बेवास्ता
पुस्तकालयमा स्थानीय सरकारकाे ध्यायन नजाँदा पुस्तकालयको अवस्था झनै दयनीय बन्दै गएकाे छ । निष्क्रिय नेतृत्व, पुस्तक दान गर्ने चलन हराउँदै जानु, सरोकारवाला निकायको असहयोग जस्ता कारणले जिल्लाकै नाम कहलिएको पुस्तकालय सङ्कटमा परेको देखिन्छ ।
पुस्तकालयलाई कुनै समय अन्तर्राष्ट्रिय गैर सरकारी संस्था ‘रिड नेपाल’ले देशकै उत्कृष्ट सामुदायिक पुस्तकालय भनेर पुरस्कृत गरेकाे पुस्तकालय संस्थापकमध्येका एक सदस्य सुरेश बहादुर पौडेल सम्झनुहुन्छ ।
पाैडेलले राज्यले ‘एक स्थानीय निकायमा एक पुस्तकालय’ को नीति लिए पनि स्थानीय सरकारले बेवास्ता गरेको गुनासो गर्नुभयाे । नगरको मुख्य सार्वजनिक पुस्तकालयप्रति स्थानीय सरकारकाे नजग नपुग्नु धेरै दु:खनीय छ । अहिले उक्त पुस्तकालयमा कतैबाट पनि पुस्तकालयका लागि सहयोग आएको छैन ।
दाताको खोजीमा
मृत जस्तै रहेको पुस्तकालयलाई जीवित तुल्याउन यतिबेला संस्थापक पौडेल लगायतका केही युवा लागि परेका छन् । करिब १५००० पुस्तक आवश्यक रहेको बताउँदै पुस्तकालय प्रमुख अम्बिका पौडेल भन्नुहुन्छ, ‘पुस्तक सहयोगका लागि भारतीय राजदूतवासलाई पत्राचार गरिएको छ । अन्य दातृ निकायलाई पनि सहयोगका लागि आग्रह गरिएको छ ।’
सुजन विष्टको सक्रियतामा अहिलेसम्म ७० वटा, महान्यायाधिवक्ता अग्निप्रसाद खरेलबाट ६० वटा, र अन्य व्यक्तिबाट १० वटा पुस्तक पुस्तकालयका लागि प्राप्त भएकाे पनि पुस्तकालय प्रमुख पौडेले बताउनुभयाे ।
घरमा रहेका र नयाँ किताब कसैले दिए अझ राम्रो हुने पुस्तकालय प्रमुख पौडेले बताउनुहुन्छ । ‘घरमा रहेका र नयाँ किताब कसैले दिए अझ राम्रो हुन्थियो, यसलाई चलायमान र व्यवस्थित बनाउने जिम्मा हामी सबैको हो ।’ पुस्तकालय प्रमुख पौडेले भन्नुभयाे ।
अहिले पुस्कालय रहेको भवन र जग्गा गौरादह कृषि क्याम्पसलाई हस्तान्तरण गरेपछि पुस्तकालय बजारमा सारिँदै छ । शौचालय अभावमा स्थानान्तरण गर्न नसकिएको बताउँदै संस्थापक पौडेलले दशैं अगावै गौरादह बजारमा सारिने बताउनुभयो । पुस्तकालय प्रतिको घट्दो क्रेजलाई बढाऊ ई-लाइब्रेरी स्थापना सँगसँगै प्रविधि मैत्री बनाइने जानकारी दिनुभयो ।