जेसीज नेतृत्वमा विनिताको एकवर्ष

२०७९ पुष १८, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

विनिता अधिकारी कटुवाल, सन २०२२ का लागि झापाको गौरादह जेसीजको अध्यक्ष हुनुहुन्छ। चाडै निर्वतमान हुन लाग्नुभएकी विनिताले गौरादह जेसीजको दशक लामो इतिहासमा पहिलो महिला अध्यक्ष भएर किर्तिमान रच्नुभएको छ। आफ्नो कार्यकाललाई उल्लेख्नीय बनाउन उहाँले समाजका विविध क्षेत्रमा पुर्याउनुभएको योगदानलाई विर्सन मिल्दैन।

जेसीज अध्यक्ष विनिताको कार्यकालमा ३४ वटा सामाजिक कार्यहरु सम्पन्न भएका छन्।

लिडरशीप फर इम्प्याक्ट विषयवस्तुमा केन्द्रित रहेर उहाँले दुईजना बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ, आर्थिक रुपमा विपन्न गौरादह नगरपालिका ४ र ५ मा अध्ययनरत दुई जना विद्यार्थीको अभिभावकत्व लिएर उहाँले आफ्नो कार्यकाललाई स्मरणीय बनाउनुभयो। यसका अतिरिक्त केही उल्लेख्नीय कार्यहरुमाः सामुदायिक र निजी गरी स्थानीय १३ वटा विद्यालयमा प्रभावकारी नेतृत्व विकास तालिम सम्पन्न भइसकेका छन्।

गौरादह ५ मा अवस्थित जनज्योति माविमा लागुऔषधविरुद्ध जनचेतनामुलक कार्यक्रम गरिनुका साथै ५९ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको छ। गौरादह २ मा रहेको विद्योदय शिशु सदनका किशोरीलाई नारी आत्मरक्षा तालिम दिइएको छ।

जनप्रतिनिधिहरुका लागि प्रभावकारी वैठक तालिम गरिनुका साथै तालिम सप्ताह अन्तर्गत कृषकहरु लाई कृषि सम्बन्धि अभिमुखिकरण तथा व्यवसायी र जेसीज सदस्यहरु लाई शेयर कारोबार सम्बन्धि तालिम गराइएको छ। रक्तदान कार्यक्रम आयोजना गरी ६१ पिन्ट रगत संकलन गरिएको छ। गौरादह बजार सरसफाई कार्यक्रम गरिनुका साथै गौरादह बजारमा धारा जडानपनि गरिएको छ।

गत स्थानीय चुनावका बेला उम्मेद्वारबीचको ककस आयोजना गरेरपनि उहाँले वाहवाही बटुल्नुभएको छ। गत मे महिनामै नेपाल जेसीजले कामको मुल्याकंन गरेर विनितालाई मन्थ्ली अवार्डबाट सुशोभित गरिसकेको छ। यस्तै, उहाँकै कार्यकालमा गौरादह जेसीजले `एईआईए´ अवार्डसहित अन्य ६ अवार्ड हासिल गरेको छ।

जेसीजबाट समाज र मुलुकले एक असल कर्तव्यनिष्ठ, आत्मविश्वासी, कर्मठ, समाज र मुलुकको नेतृत्व गरेर अगाडि बढ्न सक्ने नीति, नियमलाई पालन गरेर बन्धुत्वको भावना निर्माण गर्नसक्ने कुशल नागरिक पाएको उहाँको भनाई छ । आफूले पाएको जिम्मेवारीबाट कहिले विचलित नहुने आत्मबल र संस्कार पाएको विनिता बताउनुहुन्छ।

उहाँका अनुसार कुनैपनि काम निःस्वार्थ भावनाले गरिनुपर्छ। पद, प्रतिष्ठा भन्ने कुरा कसैको निजी हुँदैन। काम गर्ने जोश, शक्ति र क्षमता हरेक व्यक्तिमा हुन्छ। उसलाई काम गर्ने अवसर दिनुपर्छ भनेर एक व्यक्ति, एक पद र एक कार्यकालको नीति जेसीजले अघि सारेर हरेक संघ–संस्था समाज र राष्ट्रलाई सबै ठाउँमा सबैको पहुँच पुग्नुपर्छ भन्ने सन्देश पनि दिइरहेको छ।

उहाको अनुभव जस्ताको त्यस्तैः

मेरो लागि यो चुनौतीको काम पनि हो। साथीहरुले धेरै आश पनि गर्नुभएको छ। हाम्रा नियमित कार्यक्रमहरुका अतिरिक्त वर्ष २०२२ लाई उत्कृष्ट बनाउन सर्वप्रथम म जेसीजको मूलमन्त्र व्यक्तित्व र नेतृत्व विकास गराउनका लागि सदस्य मित्रहरुलाई विषयगत तालिमको व्यवस्थापन गरे।

सामाजिक क्षेत्रमा जेसीहरु सदैव समर्पित छन् भन्ने यथार्थमै सावित गर्न मैले मेरो कार्यकालमा प्रयत्नहरु गरिरहे। सामाजिक काम बाह्रै महिना गरे पनि हुन्छ। समय समयमा गरेका पनि छौं। हाम्रोमा कुनै पनि अध्यक्षको एक वर्षको एक कार्यकाल हुन्छ। दिनै गनेर तीन सय ६५ दिन कार्यकाल हो। शुरुदेखि पद हस्तान्तरण, परिचय, आस्था पाठलगायत विविध प्रक्रियाहरु हुन्छन्। अनि सप्ताह पनि अनिवार्य गर्नैपर्छ। त्यसमा कसरी गर्न सक्छ र कति प्रभावकारी हुन्छ भन्ने हुन्छ।

जेसीजमा लागेर व्यक्तित्व विकास गर्ने हो। जतिसक्यो अन्तरनिहीत प्रतिभामा निखारता ल्याउने हो। दुई चारजनासँग बोल्न सक्ने, कन्फिडेन्स बढाउने संस्थाका रुपमा लिन्छौं। व्यक्तिको व्यक्तित्वको विकासमा केन्द्रित हुन्छौं। हामीलाई विश्वास छ, यहाँ सिकेर निस्केको व्यक्ति जहाँ गए पनि नेतृत्व गर्न सक्षम हुन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार