काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिकलाई सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता आफ्नो पाँचवर्षे कार्यकालमै मासिक पाँच हजार रुपियाँ पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपालमा पहिलोपटक विसं २०५१ मा स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारले मासिक एक सय रुपियाँबाट सुरु गरेको ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता २०७६ साउनदेखि तीन हजार रुपियाँ पु¥याइएको छ ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा मङ्गलबार शुभकामना सन्देश दिनुहुँदै उहाँले सरकारले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवमा आधारित सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्दै गरेको जनाउनुभएको छ । प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा ज्येष्ठ नागरिकबाट प्राप्त हुने प्रज्ञा, सीप र अनुभवलाई राष्ट्रको सामाजिक–आर्थिक रूपान्तरण एवं विकासका लागि परिचालन गर्नुपर्ने बताउनुभएको छ ।
व्यक्तिको सरदर आयुमा भएको वृद्धिसँगै हाम्रो समाजमा पनि ज्येष्ठ नागरिकको जनसङ्ख्या तीव्र गतिमा बढ्दै गएको र अहिले करिब ३० लाख पुगेको उल्लेख गर्दै सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ– आफ्नो ऊर्जाशील समय कुनै न कुनै रूपमा राष्ट्रका लागि समर्पित गर्ने ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने क्रममा वर्तमान सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्तालगायत विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
नेपालका प्रत्येक ज्येष्ठ नागरिकको जीविका र रहनसहन मानवोचितस्तरमा सुनिश्चित गर्न सरकारले कानुनमार्फत नै ठोस व्यवस्था गर्ने नीति लिएको र यसबीच वर्तमान सरकारले अघि सारेको हरेक अस्पतालमा जेरियार्टिक वार्ड अर्थात् ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने नीतिको कार्यान्वयन केही अस्पतालबाट सुरु भइसकेको प्रधानमन्त्रीको सन्देशमा जनाइएको खबर गाेरखापत्र दैनिकमा छ।