
काठमान्डौ – ०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बन्दा शेरबहादुर देउवा ४९ वर्षका थिए । कांग्रेसमा बीपीपछि युवा अवस्थामै प्रधानमन्त्री बन्ने भाग्यशाली व्यक्ति उनै हुन् । बीपी ०१५ सालमा प्रधानमन्त्री बन्दा ४६ वर्षका थिए ।
देउवा आफैं पनि कर्मभन्दा भाग्यमा विश्वास गर्छन् । ज्योतिषीले ६ पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको उनी बेलाबखत पार्टी नेताहरूलाई सुनाउने गर्छन् । ७४ वर्षीय उनी अहिले पार्टी–सत्ता हाँकिरहेका छन् र दोस्रो कार्यकालका लागि नेतृत्व हात पार्ने ध्याउन्नमा छन् । नेतृत्वमा दोहोरिएर ८० वर्षसम्म पार्टीमा क्रियाशील रहने चाहना उनमा पछिल्लो पटक प्रकट हुँदै आएको छ । तर सजिलो भने छैन । उनको नेतृत्वमा पार्टी कमजोर बनेको र चर्चा गर्नयोग्य एउटै काम नभएको भन्दै दोस्रो र तेस्रो पुस्ताका नेताहरूले विरोध गर्दै आएका छन् ।

हुन पनि महाधिवेशन भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने केन्द्रीय विभाग देउवाले अहिलेसम्म गठन गर्न सकेका छैनन् । भ्रातृ संस्थाहरूलाई नेतृत्वविहीन बनाएको, केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति गठन तथा विदेशस्थित जनसम्पर्क समितिहरूको अधिवेशन गर्न नसकेको लगायत आरोप उनीमाथि छ । उनकै नेतृत्वमा तीन तहको चुनावमा होमिएको कांग्रेसले नराम्रोसँग पराजय भोगेकाले पनि परिस्थिति अनुकूल छैन ।
यतिबेला उनी पार्टीका निकायहरूलाई आफूअनुकूल क्रियाशील बनाउन जुटेका छन् । पार्टीका संरचनालाई पूर्णता दिएर मात्रै महाधिवेशन गर्ने उनको योजना छ । त्यसका लागि केन्द्रीय विभाग, कार्यसम्पादन समिति गठन, म्याद सकिएका भ्रातृ संस्थाहरूमा तदर्थ समिति निर्माण गर्न लागिपरेका छन् । यसो गर्दा आफ्नो गुटका नेता–कार्यकर्ताको व्यवस्थापन हुने बुझाइ उनमा छ । व्यवस्थापनकै लागि १७ वटा केन्द्रीय विभाग थप्ने प्रस्तावसमेत ल्याएका छन् । नेता–कार्यकर्ताको व्यवस्थापनपछि अनुकूल परिस्थिति निर्माण हुने र त्यसैको जगमा महाधिवेशनमा जानुपर्ने उनको रणनीति छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितको संस्थापनइतर खेमा भने देउवाका यिनै कमजोरीलाई महाधिवेशनको मुद्दा बनाउने योजनामा छन् । आफ्ना कमजोरीलाई मुद्दा बनाउन नदिने देउवाको तयारी र उनको कमजोरीलाई मुद्दा बनाएरै महाधिवेशनमा जाने संस्थापन इतरपक्षको रणनीति कांग्रेसभित्रको राजनीति बनेको छ । कान्तिपुर दैनिकमा खबर छ ।