भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा १४४ बिघा शृंखलाबद्ध रूपमा व्यक्तिको नाममा दर्ता

२०७६ मंसिर १, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा बर्दिया सोरहवामा रहेको अर्बौं रुपैयाँबराबरको झन्डै १ सय ४४ बिघा सार्वजनिक जग्गा शृंखलाबद्ध रूपमा व्यक्तिका नाममा दर्ता गराइएको खुलासा भएको छ ।

माफियाहरूले बर्दिया जिल्ला साविकको सोरहवा गाविस–८ मा रहेको कित्ता नम्बर ४४२ अन्तर्गत रहेको १४३ बिघा ९ कट्ठा पर्ती जग्गा माफियाले वर्षाैंसम्म योजनाबद्ध प्रयासबाट कित्ताकाट गरी विभिन्न व्यक्तिका नाममा दर्ता गराएको पाइएको हो ।

बाँके साविक इन्द्रपुर गाविस ८ बस्ने गयाप्रसाद कुर्मी, उनका छोरा बर्दिया सोरहा–८ का सावितराम कुर्मी तथा मालपोत कार्यालय बर्दियाका तत्कालीन मालपोत अधिकृतहरू मुक्तिबहादुर स्वाँर, शंकरप्रसाद भेटुवाल, नायब सुब्वा प्रकाशचन्द्र बुढाथोकी र खरिदार धुव्रप्रसाद भण्डारीको मिलिमतोमा यो काम भएको हो ।

विभिन्न समयका मालपोतका प्रमुख, अधिकृत तथा कर्मचारीले भूमाफियासँगको मिलेमतोमा योजनाबद्ध रूपमा सरकारी जग्गा व्यक्तिको नाममा गराएका हुन् । भूमाफियासँग साँठगाँठ राख्ने ती कर्मचारीले अकुत सम्पत्ति आर्जन गरेको आशंका गरिएको छ ।

भूमाफियाहरूले जग्गा हत्याउन २०४० सालबाट योजनाबद्ध प्रयास सुरु गरी २९ मंसिर २०५५ सम्म आइपुग्दा १ सय ४३ बिघा ९ कट्ठा सरकारी जग्गा पूर्ण रूपमा व्यक्तिको नाममा बनाउन सफल भएका थिए । सो जग्गा हालसम्म आइपुग्दा विभिन्न ६२ जनाको नाममा नामसारी भइसकेको पाइएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार