हामीले लेखेर दिएको वक्तव्य राजा ज्ञानेन्द्रले पढेका थिए : माधव नेपाल

२०७६ आश्विन १२, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले पढेको वक्तव्य तत्कालीन एमालेले ड्राफ्ट गरेर दिएको दाबी गरेका छन्। भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले शनिबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन्।

उक्त वक्तव्यको ड्राफ्टसमेत भरतमोहन अधिकारीले गरेको उनको भनाइ छ। ‘त्यो राजाको वक्तव्यको ड्राफ्ट भरतमोहनजीले नै गर्नु भएको थियो।’

नेता नेपालले राजालाई कांग्रेस र एमालेले छुट्टाछुट्टै ड्राफ्ट गरेको समेत खुलासा गरे । ‘कांग्रेस र हामीले छुट्टाछुट्टै ड्राफ्ट दिएका थियौं। दरबारको पनि छुट्टै थियो। हामीले हाम्रो ड्राफ्टअनुसार राजाको सम्बोधन हुनुपर्छ भन्ने अडान राखेपछि ज्ञानेन्द्रको ९ बजेका लागि हुने भनिएको घोषणा राति ११ बजे भयो’, नेपालले भने, ‘सुरुमा प्यारा देशबासीहरु र अन्तिममा श्रीपशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने बाहेक राजाले सबै हामीले लेखेर दिएको पढे।’

नेता नेपालले राजाको त्यही वक्तव्य राजतन्त्र अन्त्यको गज भएको दाबी गरेका छन्। ‘वास्तवमा भन्ने हो भने त्यही घोषणा नै राजतन्त्र अन्त्यको गज थियो’, उनले भने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार