संसद भवन र प्रधानमन्त्री निवासको शिलान्यास गराउने पुरोहित परे सरकारको कारबाही

२०७६ आश्विन ११, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं – सरकारले सिंहदरबारभित्र संसद भवन र बालुवाटारमा प्रधानमन्त्रीको निवास शिलान्यास गराउने पुरोहितलाई कारबाही गर्ने भएको छ । पचाङ्ग निर्णायक समितिले शुक्र अस्त र पितृ पक्ष चलेका बेला उक्त दुई भवनको शिलान्यास गराएको भन्दै संलग्न पुरोहितलाई कारबाही गर्ने भएको हो । धर्म संस्कृति तथा पचाङ्ग सम्बन्धी सरकारलाई सल्लाह सुझाव दिन, धार्मिक विवाद सुल्झाउन, चाड पर्वको साइत जुराउन सरकारले सो समिति गठन गरेको हो । सो समितिका पदाधिकारी सरकार स्वयमले नियुक्त गर्छ ।

गएको साउन ४ गतेदेखि असोज १० गतेसम्म शुक्र अस्त र गएको भदौ २८ गतेदेखि पितृ पक्ष (सोह्र श्राद्ध) चलेको छ । यस अवधिभर कुनै पनि शुभकार्य (विवाह, व्रतबन्ध, गृह प्रवेश, व्रत आरम्भ, व्रत उध्यापन) तथा गृहलगायत कुनै पनि निर्माण आरम्भसहित वैदिक अनुष्ठान गर्न नहुने ज्योतिशास्त्रमा उल्लेख छ । यस कारण समितिले यस बेला कुनै पनि शुभ कार्य नगर्न भन्दै आएको छ । तर, यही बेला समितिको सुझाव विपरीत सरकारले वैदिक विधिद्वारा नै केही भवनको शिलान्यास गरेको छ । सो भवनको शिलान्यास गराउन संलग्न भएका पुरोहितलाई कारबाही गर्ने तयारी भइरहेको पचाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त दुई भवनको शिलान्यास गरेका थिए । तर, समितिले पुरोहितलाई कारबाही गर्ने भएको हो । प्रधानमन्त्री ओलीले यही असोज १ गते सिंहदरबारभित्र संसद भवनको र २ गते बालुवाटारमा प्रधानमन्त्री निवास भवनको शिलान्यास गरेका हुन् । शुक्र अस्ताएका बेला प्रधानमन्त्री ओलीले दुई भवनको शिलान्यास गरेको तस्बिर सार्वजनिक भएसँगै सरकार र पुरोहितको आलोचना भइरहेको छ ।समितिका अध्यक्ष गौतमले यस अशुभ घडीमा महत्वपूर्ण उक्त दुई भवनको निर्माण आरम्भ गर्नु वैदिक र शास्त्रीय नियम विपरीत रहेको बताएका छन् । ज्योतिषहरुले अशुभ समयमा निर्माण आरम्भ गरिएकाले ती दुई भवनले पूर्णता पाउने र सो भवनबाट हुने कार्यले सफलता पाउनेमा आशंका व्यक्त गरेका छन् ।

यस अशुभ घडीमा वैदिक मन्त्रोचारणका साथ शिलान्यास गराउने पुरोहितलाई कारबाही गर्न समितिको बैठक बस्ने तयारी भइरहेको समिति अध्यक्ष गौतमले बताएका छन् । यसअघि पनि केही पुरोहित र पण्डितहरुले विभिन्न बहानामा शुभकार्य गर्न लागेपछि समितिले आपत्ति जनाउँदै कारबाही गर्ने चेतावनी दिएको थियो । पितृपक्षमा पितृ मोक्षका लागि हवनलगायतका कार्य गर्न भन्दै चन्दा उठाएपछि समितिले आपत्ति जनाएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार