गौरादह / स्पोर्ट्स हब गौरादहको आयोजनामा सम्पन्न अन्तरविद्यालय यु–१६ फुट्सल प्रतियोगिता२०८२ मा गौरादह–१ स्थित माउन्ट एभरेस्ट माध्यमिक विद्यालयले उपाधि जितेको छ ।
यसअघि हिजो सम्पन्न यु–१२ प्रतियोगितामा पनि सोही विद्यालय विजयी बनेको थियो ।

आज गौरादह फुट्सल मैदानमा भएको यु–१६ फाइनलमा माउन्ट एभरेस्टले देवकोटा स्कुल गौरीगंजलाई ४-१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।
प्रतियोगितामा माउन्ट एभरेस्टका अनमोल खत्री १० गोलसहित हाइ स्कोरर बने भने प्लेयर अफ दि टुर्नामेन्टको उपाधि पनि सोही विद्यालयका दीपसन खड्काले पाए ।
बेस्ट गोलकिपरको पुरस्कार देवकोटाका आदित्य ढकालले जिते । फेयर प्ले अवार्ड गौरादह–१ को गोल्डेन सनराइजले प्राप्त गर्यो ।
हिजो भएको यु – १२ प्रतियोगितामा भने माउन्ट एभरेस्टले गोल्डेन सनराइजलाई ६–२ गोल अन्तरले हराएको थियो । त्यसमा रिजन कार्की ९ गोलसहित हाइ स्कोरर बने, बेस्ट गोलकिपरको पुरस्कार कृस्टल भट्टराईले पाए र बेस्ट प्लेयर सनराइजका पासाङ तामाङ बने ।
दुवै समूहका विजेता र उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल लोकतान्त्रिक खेलकुद संघ गौरादह नगर अध्यक्ष ताराकुमार श्रेष्ठ रहेका थिए ।





