
गौरादह, झापा – डेढ लाख रुपैयाँ बराबरको विद्युत महसुल नतिर्दा गौरादह नगरपालिका क्षेत्रको मुख्य व्यापारिक र आवासीय सडक अन्धकारमा डुबेको छ ।
गौरादह बजारदेखि डिपु चौकसम्मको सडक खण्डमा रहेको सडक बत्ती काटिएको झण्डै एक साता भयो । सडक बत्ति नहुँदा यतिबेला पैदलयात्रु र सवारी चालक दुबैका लागि जोखिमपूर्ण बनेको छ ।

नेपाल विद्युत प्राधिकरणले डेढ लाख रुपैयाँभन्दा बढी रकम बक्यौता भएको कारण सडक बत्तीको लाइन काटेको हो । नियमित मर्मत, महसुल तिर्ने र बत्ती सञ्चालन गर्ने जिम्मेवारी रहेको निकायले बेवास्ता गर्दा स्थानीय बासिन्दा मारमा परेका छन् ।
“दैनिक साँझपख यहाँ हिड्नै गाह्रो छ,” स्थानीय व्यवसायी अनिश कार्की भन्छन्, “सडकमा अँध्यारो छ, दुर्घटनाको डर हुन्छ, चोरी डकैतीको खतरा त झनै छ । हिजोआज रात्रीकालिन व्यापार पनि सुक्यो ।”
गौरादह बजार क्षेत्र नगरपालिकाको आर्थिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण केन्द्र हो । तर, यस्तो आधारभूत सार्वजनिक सेवामा देखिएको चरम लापरबाहीले स्थानीय जनताको आक्रोश बढेको छ । “विकास गफले होइन, कामले देखिनुपर्छ,” अर्का एक स्थानीय हिमाल नेपालले भने, “यो अँध्यारो हामीले बोक्नुपर्ने होइन ।”
यस विषयमा गौरादहका नगरपालिका प्रमुख छत्रपति सुवेदीले सडक बत्तिको पैसा नगरपालिकाले नतिर्ने निर्णय गरिएको जनाए । ८० सालको असोजमा नगर कार्यपालिकाबाट निर्णय गरि सडक बत्तिको पैसा स्थानीय उपभोक्ताले नै तिर्नुपर्ने निर्णय भएको छ ।उनले भने – यसमा नगरपालिकाले बक्यौता तिर्ने भन्ने कुरा हुँदैन ।
प्रमुख सुवेदीले यहि असार भित्र सोलारबाट विद्युत उत्पादन गरि गौरादह बजार र डिपु क्षेत्रमा ५० वटा सडक बत्ति निशुल्क उपलब्ध गराउने काम भईरहेको जनाए ।