गगन पुरीलाई फसाउन केही व्यक्तिले प्रपञ्च रचेको आरोप

२०८० फाल्गुन १९, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

दमक । झापाको दमक नगरपालिका साविक १३ र १४ हाल ८ र ९ मा बसोबास गर्दै आएका २ सय २६ जनाले अख्यिार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्राही ढंगले दुख दिने काम गरेको आरोप लगाएका छन् ।

शुक्रबार झापाको दमकमा पत्रकार सम्मेलन गर्दै उनीहरुले वास्तविकताभन्दा बाहिर गएर आयोगले दुख दिने काम गरेको आरोप लगाएका हुन् ।

२००२ र २०३४ सालदेखि जंगल फडानी गरी जग्गा आवाद गरी भोग संरक्षण गर्दै २०२१ सालमा नै प्राप्त भएको धनी पुर्जा २०३९ फिल्डबुक तयार भएको २०६३÷०६४ तिर पुन नापी टोलीबाट धनी पुर्जा प्राप्त भई मालपोत कार्यालय दमकबाट अध्यावधि हाल साविक समेत भई बर्षै पिच्छे मालपोत तिरी पटक पटक खरिद विक्री, बैकिङसमेत भइसकेको जमिनमाथि विवाद गर्ने र मुद्धा दर्ता गर्ने कार्य भएको दमक–८ का गगन पुरीले बताएका छन् ।

मिडिया तथा सामाजिक सञ्जालमा वास्तविकता भन्दा फरक प्रचारवाजी गर्ने र अनावश्यक दुःख दिने काम भएको उनको भनाई छ ।

‘अख्यिार दुरुपयोग अनुसन्धान आयोगले हाम्रोविरुद्ध अभियोग दर्ता गरेपछि हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ’ उनले भने–‘यो विषय अब आएर कानुनी र अदालतसँग सम्बन्धित भएकाले सम्मानित विशेष अदालतमा हाजिर भई आफ्नो राय र प्रमाण पेश गर्छौं ।’

पुरीले सो प्रकरणमा आफू निर्दोष भएको पनि जिकिर गरेका छन् । बुबा भगवान पुरीले २००२ सालदेखि जंगल फडानी गरि करिब ६० विगाहा जमिन जोतभोग गरेको दावी गर्दै उनले २०२१ सालमा बुवाको नाममा २४ विगाहा र आमा रुपादेवी पुरीको नाममा ४ विगाहा १४ कठ्ठा १० धुर गरि जम्मा २९ विगाहा १४ कट्ठा १० धुर जग्गाको धनिपुर्जा आफ्नो परिवारसँग रहेको जिकिर गरे ।

जग्गा नाप जाँच ऐन २०१९ को दफा ६ बमोजिम २०६३–६४ तिर दमक नगरभित्रको हाल वडा दमक ५, ६, ८, ९ र १० मा गरि करिब २५ सय घरपरिवारले पुनः नापी टोलीबाट धनिपुर्जा प्राप्त गरेको पुरीको भनाइ छ ।

‘म राजनीति गर्ने मान्छे हुँ । दुईवटा नागरिकता भएको भेटिए म राजनीतिबाट सन्यास लिन्छु’ पुरीले भने–‘षड्यन्त्रपूर्वक ढंगबाट मलाई फसाउन खोजिएको छ, मुद्धा प्रमाणीत भए म फाँसीमा पनि चढ्न तयार छु ।’

आफुले गलत नगरेको भन्दै न्याय पाउनेमा आशावादी रहेको उनले बताए ।

‘केही व्यक्तिले योजनावद्ध ढंगबाट मेराविरुद्ध कानुनी संकट पैदा गराएर राजनीतिक फाइदा लिने दाउमा रहेको र मिडियामा कपोकल्पित समाचार सम्प्रेषण गरी भ्रम पैदा गरेको, आफूलाई अन्याय गरेका छन्’, उनले भने, ‘हुँदै नभएको कुरालाई अतिरञ्जित ढंगबाट प्रचार गरिएको छ ।’

स्थानीयले गगनलाई फसाउन केही व्यक्तिले प्रपञ्च रचेको आरोप लगाए । स्थानीय बीरबहादुर चौम्लागाईले भने, ‘सरकारी जग्गा भनेर भ्रम छर्ने ? अनि सरकारी जग्गा गगनले दर्ता ग¥यो भनेर माथि बसेर समाचार बनाउने ? सरकारी जग्गा नै छैन, कसरी दर्ता भयो ?’

गगन पुरीको लोकप्रियताको कारण विरोधहरुले षड्यन्त्र गरिरहेको उनको आरोप छ । स्थानीय कुलबहादुर दाहाल, रुपलाल धिमाल, मनोज दाहाललगायतले पनि राज्यको ज्याजतीको कारण सास्ती खेप्नु परेको बताएका छन् ।

दमक ८ मा रहेको सरकारी जग्गा आफ्नो नाममा ल्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरी र उहाँको परिवारसहित १७२ जनाविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तै सोही प्रकरणमा सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले दायर गरेको मुद्दामा पनि पुरीको चार करोडभन्दा बढि सम्पत्तीको स्रोत नखुलेको भन्दै जरिवानासहित सजायको फैसला गरिसकेको छ ।

पुरीले आफ्नो पैत्रिक जमिनसँग सम्बन्धित भई विशेष अदालतले गरेको फैसला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको कारण नेकपा माओवादी केन्द्र कोशी प्रदेशको कोषाध्यक्ष पदबाट राजिनामा दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार