उद्योग स्थापना गर्न खोज्दा दमक एकका वडा अध्यक्षले असहयोग गरेको उद्यमी लक्की सिटौलाको आरोप

२०८० मंसिर १२, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

दमककी महिला उद्यमी विन्दु सिटौला (लक्की)ले आफुले आफ्नै नम्बरी जग्गामा उद्योग स्थापना गर्न खोज्दा दमकका एक वडा अध्यक्षले असहयोग गरेको गुनासो गर्नु भएको छ । दमक वडा नम्बर १ रतुवा खोलाको छेउमा रहेको आफ्नो १० कट्ठा जग्गामा सिमेन्ट, ब्लक, ईटा जस्ता सामाग्रि उत्पादन गर्ने ईको नेपाल ईन्फ्रास्टक्चर नामक कम्पनी स्थापना गरेर वडामा दर्ता गर्न जाँदा वडा अध्यक्ष हरि न्यौपानेले दर्ता गरिनदिएको सिटौलाले गुनासो गर्नु भएको हो ।

सिटौलाले हिँजो ११ गते वडा नम्बर १ समेत रहेको दमक नगरपालीकाको गेटै अगाडी पत्रकार सम्मेलन गर्दै सिटौलाले आफुले उद्योग दर्ताका लागी वडा कार्यालय देखी नगरपालीका सम्म पटक पटक धाउँदा पनि सबै तिरबाट आस्वासन मात्रै पाएको तर काम नभएको गुनासो गर्नु भयो ।

२०७३ सालबाट उक्त जग्गा आफ्नो नाममा ल्याएर हरेक बर्ष राजस्व बुझाउँदै आएको भए पनि अहिले उद्योग दर्ता गर्न खोज्दा वडा अध्यक्षले कहिले उक्त जग्गा दमकमा पर्छ भन्ने त कहिले कमल गाउँपालीकामा पर्ने भन्दै असहयोग गरेको सिटौलाले बताउनु भयो ।

अहिले आएर त वडा अध्यक्ष न्यौपानेको आदेशमा आफ्नो उक्त जग्गाको विवरण वडाको करदाता लिष्टबाटै हटाईएको पाईएको भन्दै सिटौलाले वडा अध्यक्षको ज्यादतीका कारण आफुले हैरानी मात्रै पाएको बताउनु भयो ।

वडा अध्यक्ष न्यौपानेले अधिकार क्षेत्र बाहिर गएर आफ्नो नम्बरी जग्गालाई ऐलानी घोषणा गरेको सिटौलाले आरोप समेत लगाउनु भयो । आफ्नो नम्बरी जग्गालाई कुन आधारमा वडा अध्यक्षले ऐलानी घोषणा गरेको हो ? भन्दै सिटौलाले साँध सिमानाका सबै जग्गा दमकको नम्बरी हुने अनि आफ्नो मात्रै ऐलानी कसरी हुन्छ भन्दै प्रस्न गर्नु भयो ।

रोजगारी श्रीजना गर्ने महिला उद्यमीको रुपमा स्थापित हुने आफ्नो प्रयासमा स्थानिय सरकारबाट असहयोग भएको भन्दै न्याय दिलाईदिन सञ्चारकर्मि समक्ष उहाँले आग्रह समेत गर्नु भयो ।

उता वडा अध्यक्ष न्यौपानेले भने उक्त जग्गाको बिषयमा मालपोत र नापी कार्यालयमा बुझ्दा पनि दमकमै पर्ने र नम्बरीनै हो भन्ने प्रमाण नपाएकोले समस्या भएको बताउनु भयो । त्यसैगरी सो ठाउँमा सिटौलाले उद्योग स्थापना गर्दा संधियारहरु संग पनि सहमति नलिएको र संधियारहरुबाटै उजुरी आएकाले पनि दर्ता सिफरिस गर्न समस्या भएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार