
बुटवल – पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कटु आलोचकको पहिचान बनाएका नेकपाका नेता घनश्याम भुसाल कृषि तथा पशुपंक्षीमन्त्री बनेपछि कतिपयले आश्चर्यता प्रकट गरेका छन् । पार्टीभित्र बैचारिक नेता भनेर चिनिने भुसाल सरकारमा सहभागी भएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् ।
कतिपयले उनलाई सरकारमा नगई वैचारिक चिन्तकका रुपमा पार्टीमा काम गर्नुपर्ने धारणा व्यक्त गरिरहेका छन् भने कतिपयले समाजवादको व्याख्या गर्दै हिड्ने भुसाललाई त्यो कुरा व्यवहारमा उतार्न सुझाउँदै आएका छन् ।

नवनियुक्तमन्त्री भुसालका लागि अहिले अवसर र चुनौती दुबै छ । अहिले भुसाल मन्त्री किन र कसरी बने भन्ने चर्चा परिचर्चा भइरहेका बेला मन्त्री भूसालले आफुनो गृहजिल्ला रुपन्देही पुगेर त्यसको रहस्य खोलेका छन् । उनले सञ्चारकर्मीहरुका माझ भने– ‘मलाई प्रधानमन्त्रीजीले मन्त्री बन्न अफर गर्नुभयो मैले स्वीकार गरे । प्रधानमन्त्रीले कृषि मन्त्रालयको महत्व दर्शाउँदै कृषिमन्त्री बन्न आग्रह गर्नुभयो, मैले समाजवादको पहिलो खुड्किलोको रुपमा कृषिलाई लिदै हुन्छ भने । यद्यपी अरु मन्त्रालयको अफर पनि आएको थियो । मेरै चाहना अनुरुप मैले कृषि मन्त्रालय रोजे ।’
मन्त्री भुसालले हिजो (शनिवार) गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुजारा श्रमलाई उद्यममा ल्याउन आफू कृषि मन्त्री भएको बताएका हुन राष्ट्रिय पुँजी निर्माणका लागि मुख्य आधार भनेको कृषि हो । यसले रोजगारी सिर्जना गर्नेछ र समाजवादमा पुग्न आधार तयार गर्नेछ । यसैकारण मैले यो मन्त्रालय रोजेको हुँ मन्त्री भुसालले भने । भुसालले धेरैको रोजाइमा कृषि नभए पनि पनि नैतिकरुपमा आफूले पढेको, लेखेको र बोलेको आधारमा आफैले कृषि मन्त्रालय रोजेको बताए ।