कसले उचाल्छ काँग्रेस सभापति देउवालाई ?

२०७६ मंसिर ८, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ – काँग्रेस सभापति शेरबहादुर देउवाले ०७४ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको चुनावी अभियानमा पटक पटक तर्कहीन भाषण गरे । उनले बाम गठबन्धनको सरकार आए ‘रुन समेत नपाइने’ भन्दै काँग्रेसलाई भोट दिन आग्रह गरे । सोही क्रममा उनले आफूलाई ज्योतिषीले ७ पटक सम्म प्रधानमन्त्री हुने हावादारी अभिव्यक्ति पनि दिए ।

यसले उनमा पदीय आशक्ति र भ्रम भएको देखिन्थ्यो । यति मात्रै होइन एक कार्यक्रममा दर्शकले प्रश्न सोधेकै कारण जंगिएका देउवाले ‘तपाई बढ्दा बोल्दै हुनुहुन्छ’ भनेपछि उनी ट्रोल नै बनेका थिए । देउवाको हलुका र जिम्मेवारहीन अभिव्यक्तिले उनको व्यक्तित्वमै असर परेको धेरैको बुझाई छ । तर पनि देउवाले एक पछि अर्को गलत अभिव्यक्ति दिन छाडेका छैनन् । अहिले मुलुक भारतले मिचेको नेपाली भूमिलाई लिएर एकताबद्ध छ । देशभर भारतको विरोधमा प्रदर्शनहरु भइरहेका छन् तिनै देउवा भने विवादास्पद अभिव्यक्ति दिएर थप आलोचित भएका छन् ।

देउवाले पोखरामा शनिबार यतिसम्म भनेकी प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भारतले नक्सा परिवर्तन गरेको बताए । उनले भने, ‘अघिल्लो पल्ट राष्ट्रवादी नारा लाएर जितेको होइन ? कहाँ छ त्यो राष्ट्रवाद ? ओलीको राष्ट्रवाद आज कालापानी पुगेर घुँडा टेकेको छ । ओलीको राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएको छ । यसकारण ओली राष्ट्रवादी नै होइन ।’ उनले अगाडि थप भने, ‘ओलीसँग भित्रीरुपमा सल्लाह गरेरै भारतले नक्सा छापेको हो, यो त्यसै छाप्छ ? ओलीको सहमतिबिना छाप्नै सक्दैन भारतले ।’ उनले महाकाली सन्धीको प्रसंग पनि उप्काए–म प्रधानमन्त्री भएका बेला महाकाली सन्धी भएको हो ।

महाकालीलाई सीमा नदी मानिएको हो । त्यो कुरा महाकाली सन्धीमै उल्लेख छ । आज कालापानी र लिपुलेक भारतलाई बुझाएर सबैभन्दा ठूलो राष्ट्रघात ओलीले गरेका छन् । ओलीको राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएकाले यो सरकार राष्ट्रवादी नै होइन । यिनीहरु राष्ट्रवादी होइनन्, लम्पसारवादी हुन् ।’ उनको यो अभिव्यक्तिको नेकपाले भने चर्को विरोध गरेको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले प्रधानमन्त्री केपी शर्मा ओली माथि निराधार आरोप लगाएको टिप्पणी गरेका छन् । श्रेष्ठले भनेका छन् ‘भारतले नेपालको सीमा मिचेर बनाएको नक्साका बारेमा प्रम ओलीमाथि आरोप लगाउर्दैं पूर्व प्रम देउवाले पोखरामा बोलेको कुराको जति निन्दा र भत्र्सना गरे पनि कम हुन्छ ।’

उनले यसरी राष्ट्रियता जस्तो संवेदनशील विषयमा बोल्नु घातक र अक्षम्य हुने भन्दै शीर्ष नेताहरुले अझै नचेतेको बताएका छन् । यसविषयमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने हावादारी अभिव्यक्ति नभइ केही सूचना आएरै देउवाले बोलेको हुन सक्ने भन्दै बचाउ गरे । देउवाको विवादास्पद अभिव्यक्रि यो भने पहिलो होइन । केही साता अघि पनि देउवाले आफ्नै पार्टीका नेता अफताव आलम प्रकरणमा विवादास्पद अभिव्यक्ति दिएका थिए । १२ वर्षअघिको मुद्दा ब्युँताएर सरकारले कांग्रेसविरुद्ध षड्यन्त्र गरेको उनले बताएका थिए ।

सो अभिव्यक्ति पछि देउवा बोली सच्याउन बाध्य भएका थिए । कतिपयले देउवा अनुभवी नेता भएपनि निकटका नेताहरुको उक्साहट र भर पर्दा यसरी बारम्बार विवादमा तानिने गरेको बताउँदै आएका छन् । देउवालाई विमलेन्द्र निधि, प्रकाशचन्द्र लोहनी, विश्वप्रकाश शर्मा, पूर्णबहादुर खड्का लगायतका काँग्रेसका सानो घेराको विश्वासमा पर्दै आएका छन् । उनीहरुकै उक्साहटमा पार्टी्भित्र फरक मत राख्नेलाई पनि देउवाले सम्बोधन नगर्ने गरेको आरोप लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार