मन्त्रीलाई खुसि पार्न बालुवाटारमा प्रधानमन्त्री ओलीले दिए दमदार पार्टी !

२०७६ मंसिर ८, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मध्यरात मन्त्रिपरिषद् पुनःगठन गरे । ९ सदस्य बाहिरिए । ९ सदस्य मन्त्री–राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ खाँदै नयाँ जिम्मेवारी बहन गरे । सिंहदरबारबाट बहिर्गमित भएका पूर्वमन्त्री–राज्यमन्त्रीमध्ये अधिकांशको उस्तै गुनासो थियो– प्रधानमन्त्रीलाई भेटसमेत गर्न पाइएन । काममा अतिरिक्त हस्तक्षेप भयो ।

बालुवाटारस्थित प्रधानमन्त्री निवास र सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा मन्त्रीकै पहुँच नपुगेको गुनासो बाहिरिएपछि प्रधानमन्त्रीले आफ्ना सदस्यहरूलाई डिनर भेटको आयोजना गरेका हुन् । बालुवाटार स्रोतले जनाएअनुसार शनिबार राति प्रधानमन्त्री ओलीले बालुवाटारमा रात्रिभोजको आयोजना गरेका थिए ।

प्रधानमन्त्री निवासको पुरानो भवनबाट भर्खरै अस्थायी आवास(राष्ट्रियसभा अध्यक्षको निवासमा)मा सरेका ओलीले नवनियुक्त मन्त्रीहरूलाई अन्तरघुलित हुन सघाउ पुगोस् भनेर जमघटको आयोजना गरेको सचिवालयले जानकारी दियो ।

“बाहिरिएका मन्त्रीहरूले प्रधानमन्त्रीलाई भेट्नसमेत पाइएन भनेर गुनासो गरेको सुनियो,” सचिवालयका एक सदस्यले बाह्रखरीलाई जानकारी दिए, “भर्खरै जिम्मेवारीमा आउनुभएका सदस्यहरूले त्यस्तो (भेट्नै नपाएको) गुनासो गर्न नपाउन् । अन्तरघुलित हुने अवसर होस् भनेर जमघटको आयोजना गर्न भएको हो ।”

बालुवाटार जमघटमा असन्तुष्ट समाजवादी पार्टीका मन्त्रीहरू थिएनन् ।

“सत्तारूढ समाजवादी पार्टीबाट नेतृत्व गर्ने सदस्यरू जमघटमा हुनुहुन्थ्यो । नेकपाबाट प्रतिनिधित्व गर्ने अधिकांश सदस्य डिनरमा सहभागी थिए,” ती सदस्यले भने । नेकपाबाट प्रतिनिधित्व गरेका, खानेपानी मन्त्री बीना मगर, उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावत उपत्यका बाहिर भएकाले सहभागी हुन सकेका थिएनन् ।

उपत्यका बाहिर भएका कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई काठमाडौं फर्किएका थिए । “नयाँ सदस्यहरूसँग परिचय, हार्दिकता साटासाट गर्न बोलाइएको थियो । प्रधानमन्त्रीले बोल्ने, निर्देशन दिने, अरू सदस्यले आफ्ना कुरा राख्ने औपचारिक कार्यक्रम थिएन । अनौपचारिक जमघट हो,” मन्त्री योगेश भट्टराईले जानकारी दिए ।

उनकाअनुसार प्रधानमन्त्रीले साँझ ६ बजे मन्त्रिमण्डलका सबै सदस्यलाई निम्तो दिएका थिए । साँझ ६ बजेबाट राति ८ बजेसम्म जमघटको आयोजना भयो । त्यसपछि सबै सदस्यहरू बाहिरिएको भट्टराईले जानकारी दिए । सबै मन्त्रीलाई परिवारसहित बोलाइएको जमघटमा प्रधानमन्त्रीले सामूहिक र छुट्टाछुट्ट्ै परिवारसँग बसेर हार्दिकता साट्नुका साथै तस्बिरसमेत खिचाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार