
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रस्तावित उपाध्यक्ष वामदेव गौतमले आज (आइतबार) एक कार्यक्रममा बोलेको कुराले चर्चा पाएको छ ।
काठमाडौंमा आयोजित सो कार्यक्रममा नेकपा नेता गौतमले आफूलाई प्रधानमन्त्री बनाए छिटो समाजवाद आउने अभिव्यक्ति अहिले चर्चाको विषय बनेको हो । नेकपा अध्यक्ष समेत रहेका केपी शर्मा ओली अहिले प्रधानमन्त्री रहेका बेला उनले आफूलाई प्रधानमन्त्री बनाउन सार्वजनिक कार्यक्रम प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य समेत नभएका गौतम पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित भएका थिए । निर्वाचनमा पराजित भएपछि उनी पुन प्रतिनिधिसभा सदस्य बन्न खोजे तर सफल हुन सकेनन् । गौतम डोल्पादेखि काठमाडौंसम्म उपनिर्वाचन गराइ प्रतिनिधिसभा सदस्य हुन खोजेका थिए । पछिल्लो पटक कास्कीबाट उठ्न खोजेपनि पछाडी हटेका थिए । प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभा सदस्य बनाई उपप्रधानमन्त्री बनाउन खोजेको चर्चा चलिरहदा गौतमले एक कदम अगाडी बढेर प्रधानमन्त्रीको लालसा देखाएका हुन् ।
संवैधानिक व्यवस्था अनुसार प्र्रतिनिधिसभामा पराजित उम्मेदवार उक्त अवधिमा फेरी उठ्न पाउँदैनन् । त्यहि कारणले राष्ट्रियसभा सदस्यको प्रसंग पनि सेलाएको बताइन्छ । नेपालको संविधान अनुसार प्रधानमन्त्री बन्न प्रतिनिधिसभा सदस्य हुनुपर्दछ । तर, गौतम अहिले प्रतिनिधिसभाको सदस्य नरहेपनि प्रधानमन्त्री बनाएमा विकास गर्छु भन्ने तर्कलाई कतिपयले आश्चर्य मानेका छन् ।
उनले आज संघीय राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा गौतमले ५ वर्षमा नेपालमा समाजवाद आउने तथा १० वर्षमा समृद्धि र विकासमा चीनलाई उछिल्ने बताए । गौतमले भने, ‘मलाई दुई वर्ष मात्रै प्रधानमन्त्री बनाए झन् छिटो समाजवाद आउछ ।’
नेकपाको सचिवालय सदस्य एवं पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता गौतमले अबको ५ वर्षमै नेपालमा समाजवाद आउने ठोकुवा गरेका छन् । आफुलाई २ वर्ष प्रधानमन्त्री बन्न दिएमा झन् छिटो समाजवाद ल्याइदिने जिकिर उनले गरेका छन् ।
नेकपा संगठन विभाग प्रमुख समेत रहेका गौतम पछिल्लो समय समृद्धि र विकासका विषयमा उडन्ते कुरा गरेपछि हाँसोको पात्र बनेका छन् । नेपाल अबको पाँच वर्षमै चीन र अमेरिकाको दाँजोमा पुग्ने दाबी उनले गरेका छन् ।
नेकपाको दस्तावेजमा आफ्नो असहमती अझै यथावत रहेको बताउँदै उनले नेकपाको दस्तावेजमा उल्लिखित जनताको जनावादमा र विधानमा असहमति कायम रहेको बताए ।
गौतमले आज काठमाडौंमा आयोजित विश्व व्यवस्था र चीन : नेपालमा समाजवादको सम्भाव्यता विषयक कार्यक्रममा उक्त कुरा बताएका हुन् ।