काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाउने सूचीमा परेका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा अनिच्छा देखाएपछि उनको नाम मन्त्रीको सूचीबाट हटेको खुल्न आएको छ।
प्रधानमन्त्री ओलीले पाण्डेलाई उद्योग, वाणिज्य तथा आपूर्र्तिमन्त्री प्रस्ताव गरेका थिए। स्रोतका अनुसार, सूचीलाई अन्तिम रूप दिनुअघि पाण्डेलाई बालुवाटारबाट फोन गरिएको थियो तर उनले आफू अर्थमन्त्री बन्न चाहेको बताउँदै उक्त मन्त्रालयमा जान नमिल्ने बताएका थिए।
प्रधानमन्त्री ओलीले वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा कायमै रहेकाले उक्त मन्त्रालय दिन नसक्ने बताएका थिए।
पाण्डेले त्यसो हो भने तीन महिनामा युवराज खतिवडा राष्ट्रियसभा सदस्यबाट मुक्त भएपछि रिक्त हुँदा जिम्मेवारी हेरफेर गरी आफूलाई अर्थमन्त्री बनाउने आश्वासन चाहे। यो प्रस्तावपछि प्रधानमन्त्री ओली ‘इरिटेड’ भए।
मन्त्रीको सूचीबाट पाण्डेको नाम हटार र उक्त जिम्मेवारी लेखराज भट्टलाई दिने निर्णय गरे। साविक माओवादी केन्द्रका मन्त्रीलाई हटाएर एमालेलाई दिई पार्टी एकताको सन्देश दिने प्रधानमन्त्री ओलीको चाहना उद्योग मन्त्रालयको हकमा पूरा हुन पाएन।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी वीना मगरको मन्त्री भने प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग लेनदेन गरेका छन्। केही दिनअघि प्रचण्ड प्रधानमन्त्रीसँग ‘बाँस्कोटालाई हटाउनूस्’ भन्ने प्रस्ताव गरेका थिए। स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले वीना मगर हटाउने हो भने म गोकुल हटाउँछु भन्नुभो। प्रचण्डजीले मान्नु भएन। प्रधानमन्त्रीले पनि सञ्चारमन्त्री फेर्नुभएन।’
उता गुठी विधेयकविरुद्ध आन्दोलन हुन सञ्चारमन्त्रीको राजीनामा माग गर्ने रामवीर मानन्धर भने आफूले ‘गल्ती गरेको’ भनेर क्षमायाचना गरेर राज्यमन्त्री भएका छन्। शहरी विकास राज्यमन्त्री भएका उनले प्रधानमन्त्री ओलीसँग भेटेर त्यसबेला विरोध गरेर गल्ती गरेको भनी क्षमा मागेका थिए।
एक दशकअघि माधवकुमार नेपाल प्रधानमन्त्री छँदा उर्जामन्त्री भएका गोकर्ण विष्ट त्यसबेला ‘सेलिब्रिटी’ बनेका थिए। यसपटक भने बीचैमा हटाइदिएर विष्टको क्षमतामा प्रश्न उठाइदिएका छन्। विष्टलाई हटाउनुमा प्रधानमन्त्री ओलीमाथि विशेषगरी ‘म्यानपावर व्यवसायी’ र उद्यमीहरूको ठूलो दबाबले काम गरेको स्रोतको दाबी छ।
‘प्रधानमन्त्रीमाथि श्रममन्त्री बिष्ट हटाउन म्यानपावर व्यवसायीको ठूलो दबाब थियो। सामाजिक सुरक्षा कार्यक्रम लागू गराउन खोजेका उनीविरुद्ध व्यवसायीको पनि ठूलो लबिङ थियो। सामाजिक सुरक्षा कार्यक्रममा दर्ता नभएर असहयोग गर्ने व्यापारी सफल भए’, स्रोतले भन्यो।
विष्टलाई हटाउने तत्व सक्रिय भए तर उनलाई संरक्षण गर्न भने कोही पनि नेता अघि सरेनन्। मन्त्री बनाउन भूमिका खेल्ने महासचिव विष्णु पौडेलले पनि उनलाई बचाउन चासो नदिएको स्रोतको दाबी छ। माधव नेपाल खेमाका भनिए पनि नेपालले पनि उनको बचाउ गरेनन्। बरु प्रचण्डको रुचि पूरा गर्न उनलाई हटाएर रामेश्वर रायलाई उक्त मन्त्रालयको जिम्मा दिए।
बरु नेपाल भने अन्तिमसम्म लालबाबु पण्डितलाई हटाउन नमिल्ने अडानमा थिए। पण्डितले राम्रो काम गरिरहेको, कांग्रेस नेता शेखर कोइरालालाई हराएर आएकाले उनलाई हटाउन नमिल्ने नेपालको अडान थियो तर हृदयेश त्रिपाठीलगायत एमालेको सूर्य चिन्हबाट चुनाव लडेका पूर्व मधेश केन्द्रित दलका नेताको असन्तुष्टि हल गर्न पण्डित हटाइए। त्रिपाठी मन्त्री बने। -काठमाडौ प्रेस