
काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरा बुहारी हुन्, बीना मगर । बीना खानेपानी मन्त्री छिन् । मन्त्रालयगत कार्यमा खराब प्रदर्शन गर्नेको सूचीमा परेकी थिइन् बीना पनि । प्रधानमन्त्री कार्यालयले मन्त्रीहरूको कामको समीक्षासहित गरेको मुल्यांकनमा सबैभन्दा खराब ‘पर्फरमेन्स’ गर्नेमा बीना मगर, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, यातायात मन्त्री रघुवीर महासेठ र बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा मगर परेका थिए ।
महिनौँ दिनदेखि मन्त्रिपरिषद् पुनर्गठन हुँदा उनीहरुलाई हटाउने चर्चा चलिरह्यो । सञ्चार माध्यमहरुमा विभिन्न स्रोतको हवाला दिँदै हटाइने मन्त्रीको सूचीमा बीना पनि पर्दै आएकी थिइन् । सबैले बीना मन्त्रीबाट हट्ने अनुमान गर्दै आएका थिए भने केहीले प्रचण्डको बुहारी भएकाले यसै भन्न नसकिने धारणा राख्थे । तर, प्रधानमन्त्री ओलीको अभिव्यक्तिले उनी हट्न सक्ने अनुमान लगाइएको थियो । मन्त्रिपरिषद् पुनर्गठनको हल्ला र मन्त्री हट्ने चर्चाले राजनीतिमा निरन्तरता पाइरह्यो ।

मंसिर ३, प्रचण्डपुत्र प्रकाश दाहालको दोस्रो स्मृति दिवस । मंगलबार प्रचण्ड परिवारले प्रकाशको स्मरण ग¥यो । बीनाले पनि आफ्ना दिवंगत पति प्रकाशलाई सम्झिइन् । सोही साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमा बुधबार (मंसिर ४) मन्त्रिपरिषद् पुनर्गठन गर्ने भन्दै मन्त्रीहरुलाई कुनै कार्यक्रम नराख्न र कार्यक्रममा नजान भने । यसपछि बुधबार मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएसँगै राजनीतिमा तरंग आयो । अब हट्ने र बन्ने मन्त्रीको नाम आयो । मंगलबारदेखि नै प्रधानमन्त्री ओलीले बीनालाई हटाउन खोजे पनि प्रचण्डले रोकेको समाचार आइरह्यो । बुधबार प्रचण्डको सचिवालयले विज्ञप्ति जारी गरेर मन्त्री हटाउने र नियुक्त गर्नेमा प्रचण्डले प्रधानमन्त्रीलाई दबाब नदिएको जानकारी दियो । तर प्रधानमन्त्री ओलीले मन्त्री बीनालाई मन्त्रीबाट हटाउने विषयमा प्रचण्डसँग लफडा परेको समाचार पनि बाहिरिएको थियो ।
बुधबार सत्तारुढ नेकपाका नेताहरुको छलफल भइरह्यो । को–को मन्त्रीबाट हट्छन् र बन्छन् भन्ने जनताको पनि उत्तिकै चासो रह्यो । बुधबार दिउँसो नेकपा सचिवालयको बैठक बालुवाटारमा बस्यो । बैठकबाट बाहिरिएका नेताहरुले भोलि (बिहीबार)मात्रै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए, कमैले पत्याए । लगभग मन्त्री बन्ने र हट्नेको सूची बुधबार साँझसम्ममा अनौपचारिक रुपाम आयो । जसमा हट्ने सूचीमा परिनन्, प्रचण्डकी बुहारी बीना मगर । नभन्दै बुधबार राति राष्ट्रपति कार्यालयद्वारा जारी मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धि सूचनामा पनि हट्ने सूचीमा बीना मगर परिनन् ।
प्रचण्डले मन्त्री पद जोगाएर बीनालाई सरप्राइज दिएका छन् । अहिले हटेका मन्त्रीहरुको कार्यक्षमता राम्रो नभएको भन्दै हटाइएकाले उनीहरुलाई नैतिक संकट परेको छ । यो घानबाट प्रचण्डले बीनालाई जोगाएर बाँकी ३९ महिनाका लागि मन्त्री बनाइराख्न सफल भएका छन् ।