काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले मन्त्रिपरिषद् पुनर्गठनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई चारवटा प्रश्न गरेका छन्। बिहीबार अपरान्ह सामाजिक सञ्जालमार्फत् उनले मन्त्रिपरिषद् पुनर्गठनलाई लिएर नेकपाको सच्चा नेता कार्यकर्ताको मनमा गम्भीर प्रश्न उठेको जनाएका छन्।
मन्त्री हेरफेर गर्न सकिने भए पनि विगतमा नेकपाविरुद्ध नै लागेकालाई मन्त्रालय सुम्पेर प्रम ओलीले इमान्दार कार्यकर्ताको मन दुखाएको उनले जनाएका छन्। ‘मन्त्री हेरफेर गर्न सकिने भए पनि यस सन्दर्भमा निम्न लिखित कुरा नेकपाका सच्चा र इमानदार नेता र कार्यकर्ताका लागि सोचनीय र गम्भीर छन्’, उनले भनेका छन्, ‘देशका पार्टीपंक्ति नै अपमानित हुने गरी नेकपाविरोधीलाई मन्त्रालय सुम्पिनुपर्ने बाध्यता के आइ लाग्यो?’
रावलले हिजो कम्युनिष्ट पार्टीलाई नै उछितो काढ्नेलाई सामान्य प्रशासन एवं कानून, न्याय र संसदीय मामिला जस्ता मन्त्रालय सुम्पिनु पर्ने प्रधानमन्त्रीको बाध्यताबारे प्रश्न गरेका छन्। ‘नेकपालाई बलियो र विजयी बनाउन रगत-पसिना बगाउने र देशको लागि दृढतापूर्वक उभिने पार्टीपंक्ति नै अपमानित हुनेगरी संविधान निर्माणमा अवरोध गर्ने र कम्युनिष्ट पार्टीको उछितो काढ्नेलाई नै संघीय मामिला र सामान्य प्रशासन एवम् कानून, न्याय र संसदीय मामिला जस्ता मन्त्रालय सुम्पिनु पर्ने के बाध्यता आइलाग्यो?’, उनको प्रश्न छ।
के भने रावलले ?
१.संविधानले मर्यादित स्थानमा राखेको राष्ट्रपतिलाई पार्टी (पक्ष-विपक्ष)राजनीति र मन्त्रीहरूको चयनमा संलग्न रहेको देखिने कार्य किन गरियो ?
२.नेकपालाई बलियो र विजयी बनाउन रगत-पसिना बगाउने र देशको लागि दृढतापूर्वक उभिने पार्टीपंक्ति नै अपमानित हुनेगरी संविधान निर्माणमा अवरोध गर्ने र क.पा.को उच्छित्तो काढ्नेहरूलाई नै संघीय मामिला र सामान्य प्रशासन एवं कानून, न्याय र संसदीय मामिला जस्ता मन्त्रालय सुम्पिनु पर्ने के बाध्यता आइलाग्यो?
३. विगतमा नेकपाविरूद्ध क्रियाशील, धनबल र पूँजी राजनीतिबाट समानुपातिक सांसद बनेकालाई अझ मन्त्री बनाउनुको औचित्य के हो?
४. संविधानको समानुपातिक र न्यायको मर्मलाई सम्मान गरियो त?