मन्त्रीपद नपाएपछि साहले लगाए प्रचण्डमाथि गम्भीर आरोप

२०७६ मंसिर ५, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ – मन्त्रीमण्डल पुनर्गठनसँगै मन्त्री बन्ने चर्चामा रहेका नेकपाका नेता तथा २ नम्बर प्रदेशका अध्यक्ष प्रभु साह अन्तिममा मन्त्रीको सूचिमा अटाएनन् ।

शुरुमा उद्योगमन्त्री मातृका यादव र कृषिमन्त्री चक्रपाणी खनाललाई हटाएर यादवकोठाउँमा साह र खनालको ठाउँमा देवेन्द्र पौडेललाई ल्याउने टुङ्गोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगेका थिए ।

तर हिजो (बुधवार) राति सार्वजनिक भएको मन्त्रिपरिषद् पुनर्गठनमा साहको नाम नपेरपछि साह आक्रोशित बनेका छन् । अध्यक्ष प्रचण्डबाट मन्त्री बन्ने आश्वासन पाएका साहले प्रचण्ड कार्यकारी अध्यक्ष बनेकोमा उत्साहित हुँदै फेसबुकमार्फत बधाई समेत दिएका थिए ।

मन्त्रीमण्डल पुनर्गठनमा परेका नयाँ मन्त्रीहरुको विषयमा नेता साहले व्यङ्ग्यात्मक शैलीमा आफू लञ्जित भएको समेत बताए ।

तर मन्त्रीमण्डलमा नपरेपछि उनै साहले आज अध्यक्ष प्रचण्डमाथि गम्भीर आरोप लगाएका छन् । मन्त्रीमण्डलमा नपरेपछि असन्तुष्टि जनाउँदै साहले अध्यक्ष प्रचण्डले लेनदेनका आधारमा मन्त्री बनाएको आरोप पनि लगाएका छन् ।

उनी मन्त्री बन्ने ठाउँमा २ नम्बर प्रदेशबाट रामेश्वर राय श्रम तथा रोजगार मन्त्री बने । तर साह भने मन्त्री बन्न पाएनन् । त्यसपछि साह असन्तुष्ट बनेको उनीनिकट एक व्यक्तिले बताए ।

साहलेआज बिहीवार बिहान फेसबूकमार्फत असन्तुष्टि सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, ‘कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिएपनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो । मन्त्री हटाउँदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखिएन । योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान् कार्यले हामी फेरि एकचोटी लज्जित भएका छौं ।’

साहले हिजो अध्यक्ष प्रचण्डलाई बधाई दिँदै फेसबुकमा लेखेका छन्– ‘नेकपाका सचिवालय बैठकबाट कार्यकारी अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसहमत रुपमा चयन हुनुभएकोमा क। पुष्पकमल दाहाल ‘प्रचण्ड’ जीलाई हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार