
काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्का ६ जना सदस्यलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका छन् । दुईजना मन्त्रीहरुको जिम्मेवारी हेरफेर भएको छ । यस्तै, ३ जना राज्यमन्त्रीलाई हटाएर नयाँ राज्यमन्त्री नियुक्त गरिएकाे छ ।
यसअघि उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका उपेन्द्र यादवलाई उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि सो मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका भानुभक्त ढकाललाई यादवको स्थानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका रघुविर महासेठलाई हटाएर उनको स्थानमा वसन्तकुमार नेम्बाङलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहेका मातृका यादवलाई हटाएर लेखराज भट्टलाई सो मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका लालबाबु पण्डितलाई हटाएर हृदयेश त्रिपाठीलाई सो मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रीबाट चक्रपाणी खनाललाई पनि हटाइएको छ । उनको स्थानमा घनश्याम भुसाललाई सो मन्त्रालयको जिम्मा दिइएको छ ।
यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीबाट गोकर्ण विष्टलाई विष्टलाई हटाएर रामेश्वर राय यादवलाई मन्त्री बनाइएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापालाई पनि मन्त्री पदबाट हटाइएको छ । उनको स्थानमा पार्वत गुरुङलाई सो मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
यस्तै, राज्यमन्त्रीमा भने तीनै जना नयाँ सदस्य नियुक्त गरिएको छ । मोतीलाल दुगडलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनाइएको छ भने नवराज रावत स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएका छन् । यसैगरी, रामविर मानन्धरलाई सहरी विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
यसअघि धनबहादुर बुढा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, रामकुमारी चौधरी कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री एवं डा. सुरेन्द्रकुमार यादव स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका थिए ।
नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण बिहीबार हुने राष्ट्रपति कार्यालयले जनाएको छ । शिलापत्रबाट