
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्र प्रमुख कि नेकपाको प्रमुख भन्दै प्रश्न गरेका छन् ।
बुधबार बिहान नेकपाको बैठकले दुई अध्यक्षबीचको कार्यविभाजन र मन्त्रीमण्डल पुनर्गठनबारे छलफल गर्नुअघि प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेको विषयप्रति इंकित गर्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

नेता थापाले आफ्नो ट्वीटर ह्यान्डलमा लेखेका छन्, ‘यस्तै हो भने राष्ट्रपतिज्यूलाई ‘तपाईं राष्ट्र प्रमुख कि नेकपाको प्रमुख’ भनेर किन नसोध्ने ? संविधानतः राष्ट्रप्रमुखलाई पार्टी राजनीति गर्ने अधिकार छैन।’
प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै उनले थप लेखेका छन्, ‘गणतन्त्र ल्याउन नचाहनेहरुले नत गणतन्त्रमा राष्ट्रपति संस्था हो भनेर कहिल्यै बुझ्न चाहे न त त्यो संस्थाको गरिमा राख्न नै ?’