
काठमान्डौ – हालै नेपालमा भेटिएको गोहीले विश्वलाई नयाँ आशा दिलाएको छ।
विश्वमै दुर्लभ र अचम्मको मानिएको घरियाल प्रजातिको गोही नेपालमा भेटिएपछि वैज्ञानिकहरु खुशी भएको बीबीसीले जनाएको छ।

सानो बच्चा गोहीहरु बर्दिया राष्ट्रिय निकुन्जमा भेटिएको जनाइएको छ।
घरियाल विश्वमै लोप हुने अवस्थामा रहेको गोही हो। वैज्ञानिकहरुका अनुसार यस प्रजातिका वयस्क गोही विश्वमा हजारभन्दा कम छन्।
वैज्ञानिकहरुले नेपालमा एक सयवटा घरियाल भेटेका हुन्। उनीहरुका अनुसार यसले लोप हुन लागेको यस जीवको वृद्धिमा उल्लेखनीय भूमिका खेल्नेछ।
जुलोजिकल सोसाइटी अफ लन्डनका अध्ययनकर्ता रिकी गम्ब्सले भने,‘नेपालका भेटिएका गोहीहरु सकारात्मक खोज हुन्। यसले लोपोन्मुख गोहीको वृद्धी विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ।’
उक्त क्षेत्रमा घरियाल प्रजातिका गोही ३० वर्षमा पहिलो पटक देखिएको जनाइएको छ।