
कपिलबस्तु – भारतले नेपाली भू-भाग मिचेपछि यतिवेला सीमा स्तम्भहरुको अवस्थाका बारेमा पनि चर्चा सुरु भएको छ । भारतसँग जोडिएका सीमा क्षेत्रका केही स्तम्भहरु ढलेका र हराएका छन् ।
त्यसमध्ये कपिलबस्तु पनि एक हो । साना-ठूला गरी पाँच सय जति सीमास्तम्भ कपिलवस्तु जिल्लामा पर्छ । सीमा स्तम्भ नहुँदा कृष्णनगरको एक हेक्टर जमिन भारतले अतिक्रमण गरेको छ ।

कपिलबस्तु जिल्लासँग भारतको उत्तर प्रदेशको सिद्धार्थनगर र बलरामपुर जोडिएका छन् । दुई देशका सीमामा ४६ मुख्य, २ सय २६ सहायक र २ सय ६० साना गरी ५ सय ३२ सीमा स्तम्भ रहेका छन् ।
कपिलबस्तुमा बाढीले ढलाएका सीमास्तम्भ अलपत्र रहेका छन् । दुईको प्राविधिक टोलीले सर्वेक्षण नगर्दा सीमास्तम्भ बन्ने टुंगो छैन् । गत अषाढ २८ गते आएको बाढीले ढालेका सीमास्तम्भ निर्माणमा अन्योलता देखिएको छ ।
सीमास्तम्भ निर्माणका लागि नेपाल र भारतका दुई देशिय केन्द्रीयस्तरको सर्वेक्षक सहितको प्राबिधिक टोलीको आवश्यकता पर्ने भएकाले सीमास्तम्भ कहिलेसम्म बन्ने टुंगो छैन् । यसका लागि केन्द्र सरकारले पहल गर्नुपर्ने स्थानीय प्रशासनको भनाइ छ ।
बिजयनगर गाँउपालिका ५ स्थित चिरई खोलाका ४ वटा सीमास्तम्भ ढलेका हुन । विजयनगर गाउपालिका-५, ठकुरापुर र भारतको बलरामपुर जिल्ला गिद्धहवा सीमामा रहेको पिलर नं. ५७८/७ र त्यसको आधी किलोमिटर उत्तर पिलर नं. ५७८/१० पानीमा ढलेको छ ।
गाउपालिकाको वडा नम्बर ६ गेडुवाजोत र भारतको प्रतापपुरको सीमा रहेको पिलर नं. ५७७/७ र ५७७/९ ढलेका छन् । ५७७/९ नम्बर पिलर तेस्रो परेर वालुवामा धसिएको छ भने ५७७/७ पानीमा डुबेको छ ।
अहिले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले ढलेका सीमा स्तम्भको निगरानी गरेको दाबी छ । अहिले कपिलबस्तुको कृष्णनगरको एक हेक्टर जमिन भारतीय अतिक्रमणमा परेको छ ।