महरा एकाबिहानै कैदी बन्दीलाई भन्छन्– उठौं साथी उज्यालो भइसक्यो !

२०७६ मंसिर ३, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमान्डौ – निवर्तमान सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकी महिला कर्मचारीलाई ज बर जस्ती क र णी प्रयास गरेको अभियोगमा कात्तिक १८ गते पुर्पक्षका लागि जेल चलान भए । जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो । बन्दीका रुपमा महराले जेल जीवन बिताइरहेका छन् । जेल अन्य भीआईपी कैदीबन्दीभन्दा महराको दिनचर्या सामान्य रहेको डिल्लीबजार कारागार सदरखोरकी शाखा अधिकृत सीता अधिकारीले बताइन् ।

‘महराज्यूको आनीबानीको बारेमा मैले आजै बुझेकी थिएँ, उहाँ सामान्य रुपमा दिनचर्या बिताइरहनुभएको छ,’ शाखा अधिकृत अधिकारीले लोकान्तरसँग भनिन्, ‘उहाँमा अन्य भीआईपी कैदी जस्तो घमण्ड पनि देखिएन ।’ डिल्लीबजार कारागारमा बन्दी ढड्डाको ३४३ नम्बर बन्दीका रुपमा कृष्णबहादुर महराको नाम दर्ता छ । पूर्व प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी र पूर्व प्रहरी नायव महानिरीक्षक रञ्जन कोइराला महराका जेलका साथी बनेका छन् ।

महरा हरेक दिन बिहान ४ बजेदेखि ५ बजेसम्म ब्यूझिने गरेका कारागारका चौकीदार दिपक गिरीले बताए । ‘राति ९ बजे महरा सरको सुत्ने समय हो,’ चौकीदार गिरीले भने, ‘उहाँ उठिसकेपछि अन्य साथीहरूलाई पनि उठाउनुहुन्छ । उठौं साथीहरू उज्यालो भइसक्यो भनेर अरूलाई पनि भन्नुहुन्छ ।’ डिल्लीबजार कारागारमा कृष्णबहादुर महरासँगै निलम्बित सांसद रेशम चौधरी, डीबी कार्की, रमेश चन्द ठकुरी, रञ्जन कोइराला, शम्भु भारतीसहित ६ जना भीआईपी कैदीबन्दी छन् । महरा लगायत भीआईपीलाई अन्य कैदीबन्दीसँग नराखेर छुट्टै सानो समूहमा राखिएको शाखा अधिकृत अधिकारीले बताइन् । ‘सुरक्षाको हिसाबले उहाँहरूलाई ठूलो समूहमा नराखेर छुट्टै सानो समूहमा राखिएको छ,’ अधिकारीले भनिन् ।

महराले बिहान उठ्ने वित्तिकै नित्यकर्म सकेपछि घाम ताप्ने र फलफूल खाने गरेका छन् । उनको दिनचर्या धेरैजसो किताब पढेर बित्ने गरेको शाखा अधिकृत अधिकारीले बताइन् । ‘उहाँले धेरैजसो किताब पढेर दिन बिताउनुहुन्छ, अहिले पनि उहाँ सामान्य जीवनशैली बिताइरहनुभएको छ,’ अधिकारीले भनिन् ।

हप्ताको २ दिन मात्रै महराले भात खाने गरेका छन् । अन्य ५ दिन कारागारको मेसमा रोटी खाने गरेको अधिकारीले बताइन् । ‘महराज्यूको लागि मेसमा रोटीको व्यवस्था गरिएको छ, बाहिरबाट ल्याउने अन्य व्यवस्था गरेका छैनौं,’ अधिकारीले भनिन् । महराले जेलभित्र सामान्य बन्दीसरह व्यवहार गर्न भनेका छन् । ‘अरू कैदीबन्दी जस्तै म पनि उस्तै हुँ,’ महराको भनाइ उदृत गर्दै चौकीदार दिपक गिरीले भने, ‘मलाई अन्य कैदीबन्दीहरूलाई जस्तै व्यवहार गर्नुहोला, म पनि अरू जस्तै नै हुँ ।’

महराको लागि जेलमा एउटा ‘सिङ्गल बेड’को व्यवस्था गरिएको छ । महरालाई जेलभित्र अन्यभन्दा फरक सुविधा दिइएको ‘बेड’ मात्र भएको शाखा अधिकृत सीता अधिकारीले बताइन् । महराका परिवारका सदस्यले फलफूल ल्याउने गरेको चौकीदार गिरीले बताए ।‘उहाँलाई अन्य भेट्न आएको मैले थाहा पाएको छैन । मैले नचिनेको पनि हुनसक्छ । परिवारका सदस्यहरू भने आइरहनुभएको छ,’ गिरीले लोकान्तरसँग भने । हाल कारागारमा ६ सय ६ जना कैदीबन्दीले रहेका कारागार प्रशासनले जनाएको छ । लोकान्तरबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय