काठमाडौं – गएको भदौ, २०७५ भदौ २० सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पादक र नेकपा हेर्ने केही पत्रकारलाई निवासमै बोलाएर मन्त्री हेरफेर गरेर सरकारको कामलाई गति दिने तयारी भएको बताए ।
त्यसको केही दिनमा बालुवाटार पुगेका तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले प्रधानमन्त्रीको सचिवालयसँग गुनासो गरे, “कति हल्ला गरेको होला, हटाउने, हटाउने भनेर ! कि हटाए हुन्थ्यो, कि हल्ला नगरे हुन्थ्यो ? मन्त्री हेरफेरको हल्ला चलेदेखि काम गर्नै गाह्रो भयो । यसरी कसरी काम गर्न सकिन्छ ?”
उनको आक्रोश सचिव र कर्मचारीले अपेक्षित सहयोग नगरेकोतिर लक्षित थियो । मन्त्री हटाइने हल्लाकै बीच अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भयो । तर मन्त्रिपरिषद् हेरफेर, पुनःगठनको हल्ला साम्य भएन । त्यसपछि आधा दर्जनजति मञ्चमा अध्यक्ष प्रचण्डले मन्त्री हेरफेर हुने बताए । पछि आफैं थाके र ‘अब मलाई नसोध्नूहोस्’ भन्दै पन्छिए ।