जसले खुकुरी हान्ने उसैले नै घाइतेलाई अस्पताल लगे, तर बचेन ज्यान

२०७६ मंसिर २, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – राजधानीको बसन्तपुरमा छुरा प्रहार गरी एक जना मजदुरको हत्या गरिएको छ । मादक पदार्थ सेवन गरी सामान्य विषयमा विवाद गरिरहेका दुई मजदुरहरु बीच शनिबार राती विवाद बढेपछि विवादले हत्याको रुप लिएको हो ।

महानगरीय प्रहरी वृत्त जनसेवाका डीएसपी बासुदेव खतिवडाले काठमाडौं महानगरपालिका १९ दमाई टोल बस्दै आएका ४५ वर्षीय अरुण चित्रकारको छुरा प्रहारबाट मृत्यु भएको जानकारी दिए ।

मजदुरकै काम गर्दै आएका काठमाडौं १२, ह्युमत टोलका ४६ वर्षीय मनिषकुमार खड्गीले विवादपछि चित्रकारमाथि छुरा प्रहार गरेको डीएसपी खतिवडाले जानकारी दिए । छुरा प्रहारबाट घाइते भएका उनको उपचारका लागि वीर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । छुरा प्रहार गर्ने खड्गी आफैंले चित्रकारलाई अस्पताल लगेका थिए ।
प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको छुरा समेत नियन्त्रणमा लिएको छ ।

प्रहरीसँग दिएको प्रारम्भिक बयानमा भने खड्गीले आफूलाई सधैं हेप्ने गरेकाले रिसको झोकमा छुरा प्रहार गरेको भनेका छन् । पक्राउ परेका खड्गीमाथि थप अनुसन्धान भइरहेको छ । राजधानीबाट ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार