
काठमाडौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले उपनिर्वाचनको तयारीमा जुटन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
अध्यक्ष दाहालले सरकारको लोकप्रियता बढेको छ भन्ने सावित गर्नेगरी सो उपनिर्वाचनमा पार्टीलाई विजयी गराउने गरी प्रचार अभियानमा खटिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रचण्डले सरकारको लोकप्रियता घट्यो भन्नेहरुलाई गलत सावित गराउन तथा पार्टी र सरकारको लोकप्रियता बढेर गएको देखाउन पनि सो उपनिर्वाचनमा पार्टीको पक्षमा परिमाण आउने गरी निर्वाचन अभियानमा होमिनुपर्ने बेला आएको पनि बताएका छन् ।
‘यो उपनिर्वाचन सरकारको लोकप्रियता बढेर गएको देखाउन पनि हाम्रो पार्टीका लागि अग्नी परीक्षा भएको छ,’ अध्यक्ष दाहालले भने,‘त्यसका लागि फिल्डमै गएर प्रचार अभियानमा तीव्रता दिई पार्टी र सरकारको लोकप्रियता बढेर गएको देखाउन पार्टीका नेता, कार्यकर्ता डटेर अघि बढनु पर्दछ ।’
अध्यक्ष दाहालले उपनिर्वाचनमा पार्टीले अन्य पार्टीले जितेको ८० प्रतिशत क्षेत्रमा पनि विजयी हासिल गर्ने रिर्पोटहरु आईरहेको पनि बताए । प्रचण्डले यो उपनिर्वाचनमा सबै क्षेत्रमा विजयी भएर पार्टीले आगामी ३ वर्षपछि हुने आम निर्वाचनमा पार्टीलाई झनै शक्तिशाली बनाउने आधार तयार पार्नुपर्ने आवश्यक्ता पनि औल्याएका छन् ।
अध्यक्ष दाहालले पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाललाई विकास, निर्माण र समृद्धिको विशाल फौजको रुपमा रुपान्तरण गर्न आफूले चाहेको पनि बताएका छन् । प्रचण्डले युवा रोजगारीका विभिन्न कार्यक्रम संचालन गर्न पनि राष्ट्रिय युवा संघ, नेपाललाई निर्देशन दिएका छन् ।
पार्टीकै नेतृत्वको सरकार रहेका बेला युवा रोजगारीको अवसर संचालन हुने गरी विभिन्न कार्यक्रम संचालन गरे त्यसमा सरकारले पनि साथ दिने अध्यक्ष दाहालको राष्ट्रिय युवा संघ,नेपाललाई आश्वासन छ ।