तनावमा परे बाबुराम भट्टराई !

२०७६ मंसिर १, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं – सत्तासाझेदार दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पार्टीभित्र अल्पमतमा परेका छन् । संघीय सरकार छोड्ने र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग एकीकरण गर्ने भट्टराईको प्रस्ताव पार्टीमा सुनुवाई नै भएन ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईको संघीय सरकार छोड्ने प्रस्ताव अर्का अध्यक्ष उपेन्द्र यादवले अस्वीकार गरेपछि उनी अल्पमतमा परेका हुन् ।

गत बिहीबार सम्पन्न संघीय परिषदको बैठकमा डा. भट्टराईले ‘समाजवादी पार्टी निर्माण र अगामी कार्यभार’ विषयमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै सरकार छोड्ने कि नछोड्ने भन्ने निर्णय पार्टीको केन्द्रीय कमिटी बैठकले गर्ने उल्लेख गरेका थिए ।

तर, गत शुक्रबार र शनिबार दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले उनको प्रस्ताव अस्वीकार गर्दै तत्काल संघीय सरकार नछोड्ने निर्णय गर्यो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय सरकारमा उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका अर्का अध्यक्ष यादवले अहिलेकै अवस्थामा सरकार छोड्न नहुने भन्दै सरकारमा रहिरहने प्रस्ताव बैठकबाट पारित गराए ।

संघीय परिषदको बैठक परिषदका अध्यक्ष डा. भट्टराईको अध्यक्षतामा बसेको थियो भने केन्द्रीय कमिटीको बैठक केन्द्रीय कमिटीका अध्यक्ष यादवको अध्यक्षतामा बसेको थियो । संघीय परिषदको बैठकमा भट्टराईले सरकार छोड्ने प्रस्ताव पेश गरेपछि यादवले केन्द्रीय कमिटी बैठक बस्नुअघि आफू निकटका नेतालाई भेला गरी भट्टराईको प्रस्ताव पारित हुन नदिन भन्दै सोही अनुसार लाग्न निर्देशन दिएका थिए ।

तत्कालिन नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष भट्टराईले तत्कालिन संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकीकरण गर्दै गर्दा समाजवादीले सरकार छोड्नुपर्ने शर्त राखेका थिए । त्यतिबेलै पार्टी एकीकरण पश्चात बस्ने केन्द्रीय कमिटी बैठकको निर्णय गरेर सरकार छोड्ने सहमती भएको थियो ।

तर, पार्टीको केन्द्रीय कमिटी बैठकमा पार्टी संघीय सरकारमै बस्ने निष्कर्ष निकाल्दै तत्काल सरकार नछोड्ने निर्णय गर्यो । समाजवादी पार्टीका उपमहासचिव प्रकाश अधिकारीले अहिलेकै अवस्थामा पार्टीले सरकार नछोड्ने निष्कर्ष निकालेको बताए । केन्द्रीय कमिटी बैठकले पदाधिकारी बैठकबाट सबै विषयको गहन छलफल गरी सरकार छोड्ने कि नछोड्ने निर्णय गर्ने उनले बताए ।

‘अहिलेकै अवस्थामा सरकार नछोड्ने निष्कर्ष केन्द्रीय कमिटी बैठकले निकालेको छ’ अधिकारीले भने, ‘पछि बस्ने पदाधिकारी बैठकले सबै कुराको बिचार गरेर सरकार छोड्ने कि नछोड्ने निर्णय गर्नेछ ।’

संघीय परिषद अध्यक्ष डा. भट्टराईको अर्को प्रस्ताव पनि पार्टीभित्र सुनुवाई भएन । राजपा नेपालसँग पार्टी एकीकरण गरी बैकल्पिक शक्ति निर्माण गर्ने चाहनासहित भट्टराईले पटक–पटक छलफल गरेका थिए ।

तर, समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठकमा यस विषयमा छलफल नै भएन । भट्टराईको प्रस्ताव केन्द्रीय कमिटी बैठकमा अध्यक्ष यादवले पेश पनि गरेनन् । भट्टराईले राजपा नेपालका नेतालाई संघीय सरकार छोड्ने र केन्द्रीय कमिटी बैठकबाटै निर्णय गरेर पार्टी एकतालाई अगाडी बढाउने अश्वासन दिएका थिए ।

राजपा नेपालका नेताले समेत समाजवादी पार्टी सरकार छोड्ने निर्णय गरेपछि पार्टी एकीकरण अगाडी बढाउने भट्टराईलाई बताएका थिए । तर भट्टराईको सरकार छोड्ने र राजपासँग एकता गर्ने प्रस्ताव अलपत्र परेपछि उनी अल्पमतमा परेका हुन् । पार्टी भित्रै अल्पमतमा परेपछि संघीय परिषदका अध्यक्ष भट्टराई तनावमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार