काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा २५ तले ‘भ्यु–टावर’ निर्माण सुरु भएको छ।
संघीय सरकारअन्तर्गतको सघन सहरी विकास तथा भवन आयोजना कार्यालयले १ अर्ब ५४ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा ठेक्का लगाएर दमक नगरपालिका ३ दापगाछीमा टावर निर्माण अघि बढाएको हो।
भ्यु टावरका लागि पाँच बिघा जमिन छुट्याइएको छ। टावरमा १८ तला (७२ मिटर) स्थायी संरचना र ७ तला (२८ मिटर) स्टिलको संरचना हुने साइट इन्जिनियर भूपेन्द्र यादवले बताए।
टावरमा अन्डरग्राउन्ड पार्किङ, व्यावसायिक पसल, सेमिनार हल, कमन हल, प्रदर्शनी हल, सिनेमा हल र कर्पोरट कार्यालयहरू रहनेछन्। अन्डरग्राउन्ड पार्किङमा २ सय ४० सवारीसाधन राख्न मिल्छ।