‘नदी बगरमा लाश जलाउन पनि दिंदैन भारत’ ( भिडियो )

२०७६ कार्तिक ३०, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कन्चनपुर – भारतको हेपाहा प्रवृत्तिका कारण कञ्चनपुरका स्थानीय बासिन्दालाई महाकाली नदीमा शव अन्येष्टि गर्न समस्या भएको छ ।

दुवै देशको साझा नदीका रुपमा रहेको महाकाली नदीको सारदा ब्यारेजका ढोका भारतले आफूखुशी खोल्दा स्थानीयलाई महाकाली नदीमा अन्येष्टि गर्न समस्या भइरहेको छ ।

कुनै बेला लाश जलाएपछि खरानी बगाउनसमेत पानी नदिने भारतले हिजोआज आफूखुशी ब्यारेजका ढोका खोल्दा कर्यौ शवहरु जलि नसक्दै बग्ने गरेका छन् ।

भारतले आफू खुशी सारदा ब्यारेजका ढोका खोल्दा अन्त्येष्टिका लागि महाकाली लगिएका शवहरु जलि नसक्दै गगिरहेका छन् । यसवर्ष एकै महिनामा दुई वटा शव पूर्ण रुपममा जल्न नपाउँदै चितासहित बगेका हुन् ।

कार्तिक ४ गते शुक्लाफाँटा नगरपालिका ५ खजुवाका मनिराम जोशीको महाकालीमा अन्त्येष्टि भइरहेको थियो ।

त्यहिबेला एकाएक बढेको नदीले जोशीको जल्दै गरेको चिता बगायो । त्यसको १६ दिन नपुग्दै फेरि महेन्द्रनगरकी समुन्द्रादेवी श्रेष्ठकोे चिता पनि जलि नसक्दै बग्यो ।

दागबत्ती दिएको केहिबेरमै बगेको श्रेष्ठको चितालाई आफन्तहरुले झण्डै एक किलोमिटर परसम्म खोजे, तर शव भने भेटिएन ।

अनेक प्रयास गर्दापनि नभेटिएपछि अन्तः कुशको लाश बनाएर अन्त्येष्टि गर्नुपरेको मृतक समुन्द्रादेवीका आफन्त कमल श्रेष्ठको भनाइ छ ।

यता, नदीमा पानीको बहाव बढ्दै गएपछि मलामी गएकाहरुले ब्यारेजको ढोका बन्द गर्न भारतीयसँग हारगुहार गरे ।

त्यतिमात्रै होइन एक्कासी पानी बढेपछि महाकालीमा निर्माणाधिन पक्की पुलका कामदारहरुबीच पनि भागाभाग भयो । तर, माथिको आदेश भन्दै भारतीय पक्षले अटेरी गरेपछि उनीहरुसँग भनाभन समेत भएको प्रत्यक्षदर्शी रामप्रसाद पाण्डेय बताउँछन् ।

सारदा ब्यारेजमा १६ वटा ढोकाहरु रहेका छन् । ढोकाको चाबी भारतसँगै हुने भएकाले बर्खामा १६ वटै ढोका खोल्ने र हिउँदमा सबै ढोका बन्द हुने गर्दछ ।

यद्यपी कहिले काँही नदीमा पानी बढेको मौकामा भने भारतले आफूखुशी ब्यारेजका ढोका खोल्ने गरेको छ । जसले गर्दा घाटमा जल्दै गरेका शवहरु जलि नसक्दै बग्ने गरेका हुन् ।

यता, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशिल कुमार वैद्य यस बिषयमा भारतीय पक्षसँग पटक पटक कुरा गरेपनि भारतले आफूखुशी सारदा ब्यारेजका ढोका खोल्ने गरेको बताउँछन् ।

उसो त भारतले हिउँदमा आफ्नो नहर मर्मत गर्न बाहेक अरु बेला प्राय ब्यारेजका ढोका बन्द गर्ने गर्दछ ।

तर, बर्खामा भने सबै ढोका खोलिदिँदा भीमदत्त र महाकाली नगरपालिकाका अधिकांश क्षेत्र डुवानमा पर्ने गर्दछन् ।

त्यसैले भारतको हेपाहा प्रवृति विरुद्ध सरोकारवाला निकायले बेलैमा समन्वय गर्न जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार