निर्वाचनको नाममा जनतालाई धोका हुने गरेको छ, त्यसैले उप–निर्वाचन बहिष्कार गरौं – शिवसेना नेपाल

२०७६ कार्तिक २९, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा – उप-निर्वाचन नजिकिदै गएको छ । सबै दलहरु उप-निवाचनका लागि भोट माग्दै घरदैलो कार्यक्रममा ब्यस्त छन् ।

तर, यता शिवसेना नेपालले निर्वाचनको नाममा जनतालाई धोका हुने गरेको आरोप लगाएको छ । शिवसेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेतले हस्ताक्षर गरेको विज्ञप्तिमा राष्ट्र, राष्ट्रियता तथा धर्म र संस्कृतिको रक्षाका लागि उप-निर्वाचन वहिष्कार गर्न आम जनतालाई आह्वान गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्र जोगाउन, धर्मसंस्कृतिको रक्षा गर्न, नेपाल र नेपालीको न्याय, मुक्ति र स्वाधीनताका लागि कथित उप-निर्वाचन बहिष्कार गर्न सम्पूर्ण नेपाली जनतामा शिवसेना हार्दिक आह्वान गर्दछौं ।’

पैसाको लालचमा विदेशीको पाउमा हिन्दूधर्म चढाएर, विदेशीको जुठो खाएर, विदेशी गीत गाउन भेला भएका प्रमुख राजनीतिक दलहरुले मंसिर १४ मा उप-निर्वाचनको मिति घोषणा गरेको आरोप लगाउँदै उनले ‘धर्मलाई अफिम’ भनेर भैंसीको पूजा गर्नेहरु, नेपाल आमालाई अपशब्द भन्नेहरु, ‘मित्रताका अगाडि १०-२० हजार हेक्टर जमिन केही होइन’ भन्नेहरु यो निर्वाचनमा सहभागी भएको आरोप लगाएका छन् ।

पैसामा धर्म, इमान र नैतिकता बिक्री गर्ने र विदेशीकै पैसामा ‘होली वाइन’ पिएर ‘आमेन’ भन्दै नेपाली धर्म संस्कृतिलाई सामन्तीहरुको संस्कार भन्नेहरुका लागि निर्वाचन एक उत्सब हो, जहाँ लाखौं नेपालीको सपना एकसाथ चकनाचुर पार्ने भन्दै कडा चुनौति पनि विज्ञप्तिमा उल्लेख छ ।

यसरी शिवसेना नेपालले अब हुन लागेको उप-निर्वाचनमा भाग नलिन तथा राष्ट्र, राष्ट्रियता तथा धर्मको रक्षा गर्नका नेपाली जनता समक्ष आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय