
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुला हमिद नेपाल भ्रमाणमा छन् । उनको स्वागत गर्न उनी हिड्ने शहरका सबै सडक र चोकहरुमा उनको फोटो राखिएको छ ।
यसैक्रममा आज नगरकोटमा पनि ठाउँठाउँमा फोटोहरु राखिएको छ तर, बंगलादेशका राष्ट्रपतिको भने होइन । वर्षौंसम्म सडक नबनाउने शैलुङ कन्स्ट्रक्सनका मालिक तथा शक्तिशाली ठेकेदार शारदा अधिकारीको ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटीसमेत रहेका अधिकारीले बर्षौंसम्म सडक नबनाएको आक्रोस स्थानीय युवाहरुले पोखेका हुन् । सात बर्षसम्म सडक नबनाउने ठेकेदारलाई सबैले चिनून भन्नका लागि आफूहरुले विरोध स्वरुप ठेकेदार अधिकारीको फोटो भएको पोष्टर ठाउँठाउँमा टासेको उनीहरुको भनाइ छ ।
स्थानीयहरुले टाँसेका पोष्टरमा ठेकेदार अधिकारीको फोटोसँगै कुकुर र बादरको फोटो पनि टाँसिएको छ । सरकारले २०२० लाई पर्यटन बर्ष मनाउन उद्घोष गरिरहेको समयमा काठमाडौंबाट नजिकै पर्ने नगरकोटको सडक बनाउन चासो नदेखाएको भन्दै स्थानीयहरु आक्रोसित बनेका हुन् ।
भक्तपुर र काभ्रेको सीमानामा पर्ने पर्यटकीय स्थल नगरकोट जाने सडकको ठेक्का सम्झौता भएको सात वर्ष पूरा हुन लाग्दासमेत निर्माण सम्पन्न हुने छाटकाट छैन । दुई वर्षमा निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने यो सडकखण्ड २०७० सालमा १७ किलोमिटर सडक निर्माणको जिम्मा सैलुङ कन्स्ट्रक्सनले ३७ करोड ८७ लाख रुपैयाँमा पाएको थियो ।
तर, ठकेदारले समयमा काम सम्पन्त्र नगर्दा स्थानीयहरुले सास्ती भोग्नु परेको छ । यति मात्र होइन यही सडककै कारण नगरकोट जाने पर्यटकहरुको संख्यामा पनि कमी आएको छ