
काठमाडौँ – गृह मन्त्रालयले सशस्त्र प्रहरीलाई चीन र भारतको सिमाना थप ६३ स्थानमा बोर्डर अब्जर्भर पोस्ट (बीओपी) राख्न स्वीकृति दिएको छ ।
सरकारले भारतीय सीमा क्षेत्रमा ५९ वटा र चिनियाँ सीमा क्षेत्रमा चारवटा बीओपी स्थापना स्वीकृति दिएको छ। अब चीनतर्फ दार्चुलाको तिंकर भन्ज्याङ/लिपुलेक र कालापानी, हुम्लाको हिल्सा, मुस्ताङको लोमन्थाङ र संखुवासभाको किमाथाङ्का नाकामा बीओपी राखिनेछ।

गृहमन्त्री रामबहादुर थापाले सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमै सीमा सुरक्षाका लागि सशस्त्रको थप फौज तैनाथ गर्न लागिएको जानकारी दिनुभएको थियो। नेपाली भू–भाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर भारतले विवादित ‘राजनीतिक नक्सा’ सार्वजनिक गरेपछि गृह मन्त्रालयले उत्तर र दक्षिणतर्फ अतिक्रमित र मानव आवतजावत गर्न मिल्ने नाकामा थप चौकी स्थापना गर्न लागेको हो ।
नेपालको सीमा संग जोडिएका क्षेत्रमा भारतीय पक्षले सीमा सुरक्षा बल (एसएसबी) लाई २ देखि ३ किमि दूरीमा तैनाथ गरेको छ भने नेपालतर्फ भने सशस्त्र प्रहरीको एक बीओपीबाट अर्को बीओपीको दूरी १८ देखि २० किमि छ ।
नेपालको भारतसँग सिमा क्षेत्र करिब १ हजार ८ सय ८० किलोमिटर छ भने चीनसँग १ हजार ४ सय १४ किलोमिटर सीमा क्षेत्र छ ।