
इनरुवा – सडक निर्माणको विषयलाई लिएर आन्दोलित स्थानीयवासीले इनरुवा नगरपालिका कार्यालयको गेटमा तालाबन्दी गरेका छन् ।
बाटो निर्माणमा ढिलाई भएको भन्दै आक्रोसित बजार क्षेत्रका स्थानीयले नगरपालिकाको मूल गेटमा ताला लगाएका हुन् । स्थानीयले लगाएको ताला सुरक्षाकर्मीको उपस्थितिमा नगर प्रहरीले खुलाएपनि बजार क्षेत्रमा जारी नगरवासीको अवरोध भने हट्न सकेको छैन् ।

स्थानीयले जिसस सडक खण्डमा आज दोस्रो दिन समेत अवरोध जारी राखेका छन् । ढाट तेर्साएर स्थानीयहरु सडकमा बसेका छन् । सो खण्ड भएर सवारीका साधन सञ्चालनमा आउन दिइएको छैन् ।
नगरपालिकाले माग सम्बोधनका पक्ष्यमा चासो नदिएको भन्दै स्थानीयले आन्दोलन चर्काउने बताएका छन् । उता नगर प्रमुख राजन मेहताले भने असन्तुष्ट पक्ष्यसँग छलफलको प्रयास जारी रहेको बताएका छन् ।
लामो समय वित्दा समेत सडक निर्माण कार्य सम्पन्न हुन नसक्दा धुलो र धुँवाबाट आक्रान्त बन्नु परेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।