
काठमाडौं- भारतले केही दिनअघि सार्वजनिक गरेको नयाँ नक्साको विरोध गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौंको कोटेश्वरमा प्रदर्शन गरेका छन्। ‘लिपुलेक हाम्रो हो’ लेखिएको प्ले कार्डसहित कोटेश्वर बहुमुखी क्याम्पसबाट नेविसंघले प्रदर्शन गरेको हो। उनीहरूले लिपुलेक, कालापानी हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद! भन्दै नारा लगाएका थिए।
विद्यार्थीहरुले कोटेश्वर क्याम्पसबाट जुलुश निकालेका थिए। क्यामपसका भूतपूर्व स्ववियु सभापति महेन्द्र भट्टराई र नेविसंघ ईकाई समिति कोटेश्वर क्याम्पसको आयोजनामा भएको बिरोध प्रदर्शनमा संघका निवर्तमान महामन्त्री कुन्दन काफ्ले, केन्द्रीय सदस्य बिशाल कोईराला .नेबिसंघ आरआर क्याम्पसमा सदस्य सुनिल शर्मा लगयातको उपस्थिति रहेको थियो ।

प्रदर्शनपछिको कोणसभालाई सम्वोधन गर्दै काफ्लेले राष्ट्रिय स्वाधीनता माथिको हस्तक्षेप सहन नसकिने भन्दै सीमामा कुनै पनि छिमेकीको हस्तक्षेप स्विकार्न नसकिने बताए। उनले लिम्फियाधुरा, कालापानी र लिपुलेक लगायतका क्षेत्रमा भारत तथा उत्तरतर्फ चीनले कैयौं ठाउँमा सीमा मिचे पनि सरकार लाचार भएर कुरा गर्न नसकेकोमा आक्रोश व्यक्त गरे।
त्यस्तै नेता महेन्द्र भट्टराईले नेपालका भूमि भारतीय नक्सामा पर्दा सरकार चुप लागेर बस्न नमिल्ने भएकोले विरोध प्रदर्शन गरिएको बताए। उनले भारतको ज्यादती र थिचोमिचो सहेर बस्न नसक्ने चेतावनी दिएका छन् ।
बिरोध सभालाई सम्बोधन गर्दै निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले भारतको विस्तारवादी नीतिको विरोध गर्दै नेपालको भूभाग भारतीय नक्साबाट हटाउन समेत माग गरेका छन् ।
भारतले केही दिन अघि जारी गरेको नक्सामा नेपाली भूमिलाई आफ्नो क्षेत्रमा देखाएको छ। भारतको उक्त कदमको चौतर्फि विरोध भइरहेको छ।