
भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा सरकारले गरेका राम्रा कामलाई लिएर चुनावी अभियानमा जान निर्देशन दिनुभएको छ ।
नेकपा भक्तपुरले बिहीबार तौमढीमा आयोजना गरेको कार्यक्रममा उहाँले तीन वटै तहका सरकारले गरेका राम्रा कामलाई जनतामाझ लैजाने बेला आएको बताउनुभयो । उहाँले चुनावी अभियानलाई तीव्र बनाउन निर्देशन दिनुभयो ।

भक्तपुर क्षेत्र नं १ (क) मा १४ गते हुने उपनिर्वाचनमा पहिलाका भन्दा बढी मत ल्याएर नेकपाको उम्मेदवारलाई विजयी बनाउनुपर्ने बताउँदै उहाँले नेकपाको विजयीले सरकार विरोधीलाई जवाफ दिनुपर्ने बताउनुभयो ।
नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले कहीँ कतै विचलित नभई नेकपा एक ढिक्का भएर अगाडि बढ्दै नेकपाको विजयीलाई विगतमा जस्तै सुनिश्चित गर्नुपर्ने बताउनुभयो । त्यस्तै पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी निर्वाचनमा सूर्यलाई अन्य कुनै हत्केलाले छेक्न नसक्ने टिप्पणी गर्दै नेकपाको जीत सुनिश्चित रहेको भनाइ राख्नुभयो ।
कार्यक्रममा भक्तपुर क्षेत्र नं १ (क) मा नेकपाका तर्फबाट उम्मेदवार बन्नुभएका देवीप्रसाद ढकाल (डिपी) ले नेकपाको विकास र समृद्धिको अभियान पूरा गर्न उम्मेदवारी दिएको बताउनुभयो ।