
काठमाडौं – वरिष्ठ नेता रामचन्द्र पौडेलको भूगोलमा सभापति शेरबहादुर देउवाले आफुनिकट नेतालाई टिकट दिएपछि कांग्रेसमा भाँडभैलो भएको छ।
कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि देउवाले आफुनिकट ७४ वर्षीय खेम पौडेललाई टिकट दिएपछि केही नेताले बैठक नै बहिष्कार गरेकाछन्। बुधबार विहान बसेको पार्टी पदाधिकारी बैठकमा नेपाली कांग्रेस प्रजातान्त्रिक अस्तित्वमा रहँदा कास्की जिल्ला सभापति भएका पौडेललाई टिकट दिने निर्णय देउवाले गरेपछि केही पदाधिकारीहरुले आक्रोश पोख्दै बैठक बहिष्कार गरेका हुन्।

स्रोतका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला र कोषाध्यक्ष सीतावेदी यादवले सभापति देउवाले मनपरी गरेको भन्दै बैठकस्थल छाडेर हिँडेका थिए। देउवासहितको संस्थापन पक्षले कास्की २ मा पौडेललाई टिकट दिने निर्णय लिइसकेको छ। यहाँ नेता धनराज गुरुङ र २०७४५ को निर्वाचनमा तत्कालीन वाम गठबन्धनका रवीन्द्र अधिकारीसँग पराजित देवराज चालिसे पनि दाबेदार थिए। पौडेललाई टिकट दिने निर्णय सभापति देउवाले महामन्त्री पूर्णबहादुर खड्का, सह-महामन्त्री प्रकाशशरण महत र प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितिमा लिएका हुन्।