नसोचेको घटना घट्यो , ससुराद्वारा आफ्नै बुहारीलाई बोक्सी भन्दै निर्घात कुटपिट

ससुरा कान्तप्रसाद गिरीले आफ्नै बुहारी पूजा भारतीलाई …

२०७६ कार्तिक २०, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाँचथर – देशका केही स्थानमा अझै बोक्सीमा विश्वास गर्ने प्रवृति कायम नै छ । पहिला भन्दा कम त हुँदै गएको छ तर पूरै रुपमा अन्त्य भने हुन सकेको छैन । यस्तै पाँचथरमा एक महिलालाई आफ्नै ससुराले बोक्सी भन्दै निर्घात कुटपिट गर्नुका साथै बोक्सी भन्दै ताताे फलामले डाम्न खोजेको छ ।

पाँचथर याङ्वरक गाउँपालिक–२, फलैँचामा ससुरा कान्तप्रसाद गिरीले आफ्नै बुहारी पूजा भारतीलाई निर्घात कुटपिट गर्नुका साथै बोक्सी भन्दै डाम्न खोजेको हाे । माइतीघर हिलिहाङ गाउँपालिका–३, कुर्लुम्बा रहेकाे भारतीकाे ससुराले छिमेकी महेन्द्रप्रसाद पौडेलसँग मिलेर निर्घात कुटपिट गर्नुका साथै फलाम तताएर डाम्न खोजेको उनी बताउँछिन्। कुटपिटपछि ससुराले डाम्नलाई फलाम तताउँदै गर्दा महेन्द्रले समाइरहेको अवस्थामा आफू फुत्किएर भाग्न सफल भएको पुजाले सुनाइन्।

पूजा भागेर अहिले माइतीको शरणमा पुगेकी छन्। गत भदौ ३१ गते राति कान्तप्रसाद र महेन्द्रप्रसादले आफूलाई बोक्सी भन्दै निर्घात कुटपिटसमेत गरेको पूजाको भनाइ छ । सोही रात आफूमाथि भएको जघन्य अपराध विरुद्ध नजिकैको प्रहरी चौकीमा ठाडो उजुरी दिएको उनको भनाइ छ ।

यद्यपि पीडकहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न प्रहरी अग्रसर नभएको पीडितको गुनासो छ । प्रहरीले निकै समय गुज्रेपछि जाहेरी बिना कारबाही गर्न नमिल्ने भनेपछि असोज २७ मा जाहेरी गरेपनि प्रहरीले पीडकलाई अझै पक्राउ नगरेको पीडित पूजाको दुःखेसो छ । उक्त घटनापछि कान्तप्रसाद र महेन्द्रप्रसाद हाल फरार रहेको पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिनुभयो । कान्तप्रसादले धामीको काम गर्ने गरेको जनाइएको छ ।

कान्तप्रसादले ‘मेरो छोरो खान लागिस, घटेर मर्न लाग्यो’ भन्दै ससुराले यातना दिएको पीडित पुजाको दुःखेसो छ । सासूबाटसमेत बोक्सीकै लाञ्छना पाउँदै लामो समयदेखि मानसिक यातना पाएको उनले पीडा पोखेकी छन्। बाबुआमाकै कुरा सुन्ने गरेका श्रीमान् तेजप्रसादबाट पनि आफू अपहेलित भएको पूजाले सुनाइन् । फरार आरोपितहरुको खोजी भइरहेको प्रहरी निरिक्षक पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार