गोरु पक्रदा झापाका एसपी मैनालीको सरुवा चलखेल !

२०७६ कार्तिक २०, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

झापा – सात महिनाअघि झापा आएका एसपी दिनेशराज मैनालीले गाई गोरु बरामद गर्न जिल्ला मातहतका प्रहरी कार्यालयका इञ्जार्चलाई ठाडो निर्देशन दिएपछि तस्कर सञ्जालभित्र अहिले खैलाबैला मच्चिएको छ ।

धमाधम गोरु पक्राउ गर्न थालेपछि उनको सरुवाको चलखेल समेत शुरु भएको छ । ‘म झापामा आउनु अघिदेखि नै गाई गोरु तस्करी हुँदै आइरहेको थियो, यसलाई रोक्न प्रहरी कार्यालय झापाले अभियान नै थालेको छ’, एसपी मैनालीले भने, ‘तस्करी खुलाउन धेरै व्यक्ति म कहाँ आएको थियो, ‘तर, मैले तिनीहरूको प्रस्ताव अस्वीकार गरे ।, ‘बरु मलाई सरुवा गरे हुन्छ, म झापामा हुँदासम्म गाई गोरु तस्करी नियन्त्रण गरेरै छाड्छौ’, एसपी मैनालीले भने ।

मोरङ जिल्लाबाट झापा गाई गोरु लोड गरिएको ठुला तथा साना ट्रक झापा प्रवेश गरेसँगै झापा प्रहरीले दमकमा तथ्याङ्क सङ्कलन गर्ने अभियान सुरु गरेको छ । प्रहरीको यस अभियानलाई चक्मा दिँदै मङ्गलवार बिहान ३ बजे दमकबाट दुई वटा ट्रकमा लोड भएका ५० वटा गोरु पूर्वतर्फ लागेको सूचना प्रहरी कार्यालय झापालाई बिहान प्राप्त भयो । सोही क्रममा इलाका प्रहरी कार्यालय सुरुङगाले बिहान ४ बजे दुई वटा ट्रकसहित ५० वटा गोरु नियन्त्रणमा लिए ।

पूर्व–पश्चिम राजमार्ग छाडेर झापाको कनकाई नगरपालिका ३ स्थित भित्री सडक प्रयोग गरी सुरुङगाबाट झापा गाउँपालिकाको टाघनडुब्बा नाका हुँदै भारतको डिगलबैक नाकातर्फ लैजाने क्रममा प्रहरीले ना ६ ख ३८४१ र ना ५ ख ५९४६ नम्बरको फुलबडी ट्रकसहित गोरु नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीले बरामद गरेको ५० वटा गोरु, दुई वटा ट्रक र चालकद्धयलाई आवश्यक कारबाहीका लागि मङ्गलवार दिउँसो भद्रपुर भन्सार कार्यालय बुझाएका छन् । प्रहरीले ट्रकका चालकद्धय मकवानपुर जिल्ला हेटौडा ४ बस्ने रोमियो कालिकोटे र बारा जिल्ला निजगढ नगरपालिका ४ बस्ने विरबहादुर थिङसहित ५० वटा गोरु र दुई वटा ट्रक आवश्यक कारबाहीका लागि भन्सार बुझाएको डिएसपी श्रेष्ठले जानकारी दिए । प्रहरीले ५० वटा गोरुको दुई लाख २५ हजार र ७ लाखको दरले दुई वटा ट्रक १४ लाख गरी जम्मा १६ लाख २६ हजारमा भन्सार बुझाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएको ५० वटा गोरु दमक नगरपालिका ५ बस्ने जीवन कार्की रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार दमकका कार्कीले सर्लाही बरहथवा नगरपालिका ६ बस्ने निरजकुमार सिंह चौपाया खरिद बिक्री केन्द्रबाट दुई वटा पानमा बिलमा खरिद गरी ५० वटा गोरु झापा ल्याएका हुन । खरिद गरिएको दुवै बिलको मिति कार्तिक १७ गतेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार